एनपिएल–३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्। प्रतियोगिता प्लेअफ चरणमा प्रवेश गर्न लाग्दा बलिङतर्फ राहुल यादव र रिजन ढकाल तथा ब्याटिङतर्फ लोकेश बम र राशिद खानले प्रभावशाली प्रदर्शन गर्दै चर्चा बटुलेका छन्।

लिग चरणका खेलहरू अन्तिमतिर पुग्दा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान पक्का गरिसकेका छन्। विदेशी खेलाडीको आकर्षक प्रदर्शनसँगै नेपाली खेलाडीले पनि आफ्नो व्यक्तिगत क्षमतामार्फत प्रतियोगितामा विशेष छाप छाडेका छन्।

एनपीएलले यसअघिका संस्करणमा पनि नयाँ प्रतिभालाई आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्दै आएको थियो। यसपटक पनि केही नेपाली खेलाडीले प्राप्त अवसरको भरपूर सदुपयोग गर्दै राष्ट्रिय टोलीमा आफ्नो दाबेदारी थप बलियो बनाउने संकेत दिएका छन्।

ट्यालेन्ट हन्टबाट आएका राहुल गोल्डेन क्यापको दौडमा

यस संस्करणमा सर्वाधिक चर्चा कमाउने खेलाडीमध्ये तीव्र गतिका बलर राहुल यादव एक हुन्। ट्यालेन्ट हन्टमार्फत छनोट भएर जनकपुर बोल्ट्समा आबद्ध भएका राहुलले पहिलो सहभागितामै उत्कृष्ट बलिङ गर्दै सबैको ध्यान आकर्षित गरेका छन्।

उनले सात खेलमा १२ विकेट लिँदै प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको सूचीमा शीर्षस्थान ओगटेका छन्।

काठमाण्डु गोर्खाजविरुद्धको खेलमा चार ओभर बलिङ गर्दै ३१ रन खर्चेर चार विकेट लिनु उनको उत्कृष्ट प्रदर्शनमध्ये एक हो। त्यसपछिका लगातार दुई खेलमा विकेटविहीन बनेका उनी पाँचौँ खेलमा दुई विकेट लिँदै पुनः लयमा फर्किए। त्यसपछि क्रमशः एक र तीन विकेट लिँदै उनले आफ्नो प्रभाव कायम राखेका छन्।

ट्यालेन्ट हन्टबाट छनोट भएर प्रतियोगिताकै सर्वाधिक विकेट लिने बलरको दौडमा अग्रस्थानमा पुग्नु राहुलका लागि ठूलो उपलब्धि हो। उनको प्रदर्शनले घरेलु क्रिकेटमा लुकेका प्रतिभालाई अवसर दिन सके उत्कृष्ट नतिजा प्राप्त हुन सक्ने देखाएको छ।

रिजनको निरन्तर विकेट, चितवनलाई बलियो साथ

बलिङतर्फ चितवन राइनोजका रिजन ढकाल पनि लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनले पाँच खेलमा ११ विकेट लिइसकेका छन्। प्रतियोगितामा खेलेका प्रत्येक खेलमा विकेट लिन सफल रिजनको प्रदर्शन उनको निरन्तरताको प्रमाण बनेको छ।

चितवनको बलिङ आक्रमणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका रिजनले टोलीको जित यात्रामा समेत योगदान पुर्‍याएका छन्। चितवनले हालसम्म खेलेका छ खेलमध्ये तीनमा जित हासिल गरेको छ।

नेपालका लागि आठ टी–२० अन्तर्राष्ट्रिय र चार एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेका रिजनले एनपीएलमा देखाएको प्रदर्शनबाट आफ्नो क्षमता पुनः प्रमाणित गरेका छन्। उनको निरन्तर विकेट लिने क्षमताले राष्ट्रिय टोलीमा स्थान थप बलियो बनाउने सम्भावना देखाएको छ।

ब्याटिङमा लोकेश बमको उत्कृष्ट लय

ब्याटिङतर्फ विराटनगर किङ्सका लोकेश बम प्रतियोगिताकै प्रभावशाली ब्याटरका रूपमा देखिएका छन्। उनले सात खेलमा २४२ रन बनाउँदै सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा शीर्षस्थान कायम गरेका छन्।

प्रतियोगितामा दुई अर्धशतक प्रहार गरिसकेका लोकेशले आक्रामक ब्याटिङमार्फत आफ्नो क्षमता देखाएका छन्। टोलीलाई आवश्यक परेको समयमा रन बनाउन सक्ने उनको क्षमताले विराटनगरको ब्याटिङलाई बलियो बनाएको छ।

नेपालका लागि २९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका लोकेशले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने डेब्यु गर्न बाँकी छ। एनपीएलमा देखाएको उत्कृष्ट प्रदर्शनले सीमित ओभरको क्रिकेटमा उनको सम्भावनालाई थप उजागर गरेको छ।

राशिद खानको ब्याटिङमा पुनरागमनको संकेत

काठमाण्डु गोर्खाजका राशिद खान पनि ब्याटिङमा प्रभावशाली देखिएका छन्। उनले छ खेलमा एक अर्धशतकसहित १५५ रन बनाएका छन्।

नेपालका लागि दुई टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका राशिदले एनपीएलमा आफ्नो ब्याटिङ क्षमता देखाउँदै राष्ट्रिय टोलीमा पुनरागमनको सम्भावनालाई चर्चामा ल्याएका छन्। प्रतियोगितामा उनको प्रदर्शन आगामी दिनमा राष्ट्रिय टोलीका लागि दाबेदारी प्रस्तुत गर्ने आधार बन्न सक्ने देखिन्छ।

समग्रमा यस संस्करणको एनपीएल नेपाली खेलाडीका लागि आफ्नो क्षमता प्रमाणित गर्ने महत्त्वपूर्ण मञ्च बनेको छ। राहुल र रिजनको बलिङ तथा लोकेश र राशिदको ब्याटिङले प्रतियोगितामा नेपाली खेलाडीको व्यक्तिगत प्रदर्शनलाई थप आकर्षक बनाएको छ।

अब प्लेअफ चरणमा यी खेलाडीले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिन सक्छन् वा सक्दैनन् भन्ने चासो क्रिकेटप्रेमीमा रहनेछ।