काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड रुपैयाँ मूल्य बराबरको सेतो हेरोइन बरामद गरेको छ। थाइल्यान्डबाट काठमाडौँ आएका एक भारतीय नागरिकको साथबाट प्रहरीले साढे ५ केजी हेरोइन बरामद गरेको हो।
लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार लागुऔषधसहित भारतको महाराष्ट्रका ५२ वर्षीय रेवराज टिघारे पक्राउ परेका छन्।
शनिबार बिहान विमानस्थलमा शङ्का लागेर प्रहरीले जाँच गर्ने क्रममा उनको लगेजभित्र खरायो र बिरालोको खानाका प्याकेटमा लुकाएर राखिएको अवस्थामा सेतो हेरोइन फेला परेको थियो।
प्रहरीका अनुसार बरामद हेरोइनको अवैध बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको अनुमान छ। यसको कारोबार प्रतिग्राम ४० हजार रुपैयाँका दरले हुने अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्।
अनुसन्धानका क्रममा पक्राउ परेका टिघारे यसअघि पनि दुई पटक लाओसबाट काठमाडौँ हुँदै भारत गएको खुलेको छ। उनको यात्रा विवरणमा जिम्बाब्वे, सुडान, बङ्गलादेश र कम्बोडियाको भ्रमण गरेको देखिएको प्रहरीले जनाएको छ।
एसएसपी बोहराका अनुसार उनी लागुऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय सञ्जालका मुख्य व्यक्तिमध्ये एक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको छ।
सेतो हेरोइनको कारोबारमा संलग्नलाई कानुनअनुसार १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।
पक्राउ परेका टिघारेमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।





