गण्डकी – अन्नपूर्ण संरक्षण क्षेत्रमा गत अक्टोबर महिनामा ४१ हजार ७५८ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा चार हजार ६८२ ले बढी हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका अनुसार गत वर्ष अक्टोबरमा ३७ हजार ७६ जना विदेशी पर्यटक उक्त क्षेत्रमा पुगेका थिए । मुख्य पर्यटकीय याम भएकाले अक्टोबरमा पर्यटकको आगमन बढ्ने गरेको आयोजनाका प्रमुख डा. रविन कडरियाले जानकारी दिए ।
अक्टोबरमा अन्नपूर्ण क्षेत्रमा पुगेका कुल पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका १९ हजार २०७ जना रहेका छन् भने बाँकी अन्य देशका हुन् ।
सन् २०२६ सुरु भएयता सबैभन्दा बढी पर्यटक गत जुन महिनामा अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । उक्त महिनामा एक लाख आठ हजार ७०३ जना विदेशी पर्यटकले क्षेत्रको भ्रमण गरेको डा. कडरियाले बताए । उहाँका अनुसार जुन महिनामा सबैभन्दा बढी भारतीय पर्यटक आएका थिए । यस वर्षको दश महिनामध्ये सबैभन्दा कम पर्यटक भने जनवरीमा आएका थिए । उक्त महिनामा २० हजार ६३ जना विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए ।
“अक्टोबर–नोभेम्बर मुख्य पर्यटकीय याम भएकाले यस समयमा पर्यटकको सङ्ख्या बढ्ने गर्छ”, उनले भने ।
आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै भ्रमण गर्ने विदेशी पर्यटकको मात्रै तथ्याङ्क सङ्कलन गर्दै आएको छ । सडक मार्गबाट समेत बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक अन्नपूर्ण क्षेत्रमा पुग्ने गरेका छन् ।
पदयात्राका लागि प्रख्यात अन्नपूर्ण क्षेत्रमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ र म्याग्दीको घोडेपानी प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेका छन् । यी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ ।
करिब सात हजार ६०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन र मौलिक संस्कृतिका कारण पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका विभिन्न स्थानबाट अन्नपूर्ण क्षेत्रमा छोटो, मध्यम तथा लामो दूरीका पदयात्रा गर्न सकिन्छ । संरक्षण क्षेत्रले यी पाँच जिल्लाका १५ स्थानीय तहका ८७ वडालाई समेटेको छ ।





