एनपीएल : पोखराको कीर्तिमानी जित, काठमान्डु ५५ रनले पराजित

काठमाडौं । कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रामक ब्याटिङ तथा दिनेश खरेलको उत्कृष्ट बलिङमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार काठमान्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको थियो । एनपीएल इतिहासकै सर्वाधिक ठूलो स्कोर बनाएको पोखराले दिएको २२५ रनको लक्ष्य पछ्याएको काठमान्डु १९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रनमा समेटियो ।

काठमान्डुका लागि ओपनर साहित पटेलले सर्वाधिक ३४ रन बनाए । उनले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यस्तै रासिद खानले २० बलमा ३ चौका र २ छक्कासहित ३१ रन जोडे । विलियम बोसिस्टोले २६ तथा जहानदाद खानले २४ रन बनाए ।

पोखराका बलर दिनेश खरेलले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । बिपिन खत्रीले ३ तथा रमेश मेन्डिस, सन्नी विक र युवराज सिंह सम्राले समान १ विकेट लिए ।

यसअघि पोखराका लागि कुशल भुर्तेल र युवराज सिंह सम्राले उत्कृष्ट ब्याटिङ गरेका थिए । भुर्तेल शतक बनाउन मात्र १ रनले चुके । उनले ५१ बलमा ८ चौका र ८ छक्काको मद्दतमा ९९ रन बनाए ।

युवराज सम्राले पनि आक्रामक ब्याटिङ गर्दै ५५ बलमा ८ चौका र ५ छक्कासहित ८९ रन बनाए । कुशल र युवराजले दोस्रो विकेटका लागि १८६ रनको कीर्तिमानी साझेदारी गरे । यो एनपीएल इतिहासकै सबैभन्दा ठूलो साझेदारी हो ।

यसअघि पहिलो संस्करणमा पोखराकै आन्द्रे गौस र दिनेश खरेलले लुम्बिनी लायन्सविरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए ।

पोखराका कप्तान चमिका करुणारत्नेले ७ बलमा १ चौका र २ छक्कासहित अविजित १९ रन बनाए । धनञ्जय लक्षण २ रनमा अविजित रहे ।

काठमान्डुका कप्तान करण केसीले २ तथा जहानदाद खानले १ विकेट लिए । करणले १९औँ ओभरमा कुशल भुर्तेल र युवराज सम्रा दुवैलाई आउट गरेका थिए ।

पोखराले यसअघि कर्णाली याक्सविरुद्ध पनि २१७ रन बनाएको थियो । एकै सिजन दुई पटक २०० भन्दा बढी रन बनाउने पोखरा एनपीएलको पहिलो टोली बनेको छ । यसअघि विराटनगर किंग्सले पोखराविरुद्ध २२० रन बनाएको थियो ।

यस जितसँगै पोखराले लिग चरणको अन्तिम खेलमा दोस्रो जित निकाल्दै ७ खेलबाट ४ अंक जोडेर सातौँ स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको छ । यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको पोखराले कीर्तिमानी जितका साथ प्रतियोगिताबाट बिदाइ लिएको छ ।

यता, काठमान्डुले ७ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा रहेर लिग चरण समाप्त गरेको छ । अब काठमान्डुले बुधबार एलिमिनेटरमा चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ ।

साविक विजेता लुम्बिनी लायन्स ११ अंकसहित पहिलो र सुदूरपश्चिम रोयल्स १० अंकसहित दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेका छन् । यी दुई टोलीबीच मंगलबार क्वालिफायर खेल हुनेछ ।