काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै आज छठ पर्व विधिवत् रूपमा समापन हुँदैछ। चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने छठ पर्वको अन्तिम दिन आज बिहान मिथिलाञ्चलसहित देशका विभिन्न स्थानमा श्रद्धालु भक्तजनले जलाशयमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन्।
छठ पर्वका अवसरमा पोखरी, तलाउ, नदी, नहर तथा अन्य जलाशयका किनारमा बनाइएका छठघाटमा बिहानैदेखि व्रतालु तथा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। भक्तजनले धार्मिक विधिपूर्वक सूर्यदेव र छठी माताको पूजा आराधना गर्दै पर्व सम्पन्न गरिरहेका छन्।
सत्य, अहिंसा र मानवताप्रति आस्था बढाउनुका साथै सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्नु यस पर्वको विशेषता हो। सूर्य उपासनाको महत्वपूर्ण पर्वका रूपमा रहेको छठमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा हुने विश्वासका साथ श्रद्धालुहरूले कठोर व्रत बसेर छठ पर्व मनाउने गर्छन्।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन व्रतालुले ‘नहाय–खाय’ विधि पूरा गरेका थिए। यस दिन स्नान गरी चोखो भोजन गरेर व्रतको सुरुआत गरिन्छ। दोस्रो दिन ‘खरना’ मनाइन्छ। खरनाका दिन व्रतालु दिनभरि निराहार उपवास बसेर साँझ छठी माताको पूजा गरी प्रसाद ग्रहण गर्छन्।
पर्वको तेस्रो दिन षष्ठीका अवसरमा व्रतालुले गहुँ र चामललाई परम्परागत रूपमा कुटेर तयार पारिएको पिठोबाट ठकुवा, भुसवा, खजुरिया, पेरुकियालगायत परिकार बनाउँछन्। साथै विभिन्न फलफूल, मूला, गाजर, बेसारको गाँहो, भोगटे, नरिवल, सुन्तला र केरा लगायतका सामग्री बाँसका नाङ्लो, कोनिया तथा ढाक्कीमा सजाएर छठघाटमा पुर्याइन्छ।
षष्ठीको साँझ व्रतालुले जलाशयमा प्रवेश गरी अस्ताउँदो सूर्यलाई सन्ध्याकालीन अर्घ्य अर्पण गरेका थिए। त्यसैगरी आज बिहान पुनः छठघाट पुगेर जलाशयमा उभिई उदाउँदो सूर्यलाई प्रातःकालीन अर्घ्य अर्पण गरेपछि चारदिने छठ पर्व सम्पन्न हुने धार्मिक परम्परा छ।
छठ पर्वको सुरुआतसम्बन्धी विभिन्न धार्मिक मान्यता र किंवदन्ती प्रचलित छन्। महाभारतमा उल्लेख भएअनुसार पाण्डवहरू अज्ञातवासमा रहँदा द्रौपदीसहित सूर्यदेवको आराधना गरेको प्रसङ्ग छ। सोही समयदेखि मिथिलाञ्चल क्षेत्रमा छठ मनाउने परम्परा सुरु भएको जनविश्वास रहेको छ।
त्यस्तै, सूर्य पुराणअनुसार सर्वप्रथम अनुसूयाले छठ व्रत गरेको उल्लेख छ। व्रतको प्रभावले उनले अटल सौभाग्य र प्रेम प्राप्त गरेको धार्मिक विश्वासका आधारमा छठ मनाउने परम्परा सुरु भएको मानिन्छ।
धार्मिक आस्थासँगै सामाजिक सद्भाव र एकताको पर्वका रूपमा समेत विकसित छठ हिन्दू समुदायका साथै मुस्लिम समुदायका व्यक्तिले पनि श्रद्धापूर्वक मनाउने गरेका छन्।
छठमा सूर्यदेवलाई विभिन्न प्रकारका फलफूल, परिकार तथा पूजासामग्री चढाउने परम्परा छ। ७० प्रकारका सामग्री चढाउनुपर्ने धार्मिक मान्यता रहे पनि सबै सामग्री जुटाउन नसक्नेले गम्हरी धानको चामल मात्र चढाए पनि सूर्यदेव प्रसन्न हुने जनविश्वास रहेको छ।





