किसानको बाली जोगाउन प्रहरी खेतमा

झापा । जङ्गली हात्तीको आवागमनका कारण पाकेको धानबालीमा क्षति पुग्ने जोखिम बढेपछि झापाको बाहुनडाँगीमा स्थानीय बासिन्दा, सुरक्षाकर्मी र जनप्रतिनिधि मिलेर धान काट्न खेतमा जुटेका छन्।

मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा आइतबार हात्ती प्रभावित क्षेत्र तथा सीमानाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि र किसानको संयुक्त सहभागितामा धान काट्ने अभियान सञ्चालन गरिएको हो।

यसअघि हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले किसानलाई पाकेको धान समयमै भित्र्याउन आग्रह गरेको थियो। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले धान भित्र्याउने अवधिभर हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने प्रतिबद्धता जनाउँदै किसानलाई ढिलाइ नगरी बाली भित्र्याउन आग्रह गरेका थिए।

प्रशासनको आग्रह र किसानको मागअनुसार हात्ती प्रभावित क्षेत्रमा धान काट्ने अभियान सञ्चालन गरिएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए।

उनका अनुसार हात्तीको निरन्तर आवागमनले पाकेको धानबालीमा क्षति पुग्ने जोखिम बढेपछि किसानलाई सहयोग गर्न सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयवासी एकजुट भएका हुन्।

वडाध्यक्ष कार्कीले हात्तीको जोखिमका कारण किसानलाई बाली भित्र्याउन समस्या भइरहेको भन्दै कृषि उपज जोगाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए। अभियानले हात्तीबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्नुका साथै किसानको उत्पादन सुरक्षित गर्न सहयोग पुग्ने उनको भनाइ छ।

यसअघि शुक्रबार बिहान बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते भएपछि प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोली बाहुनडाँगी पुगेको थियो।

अनुगमनका क्रममा स्थानीय किसानले कम्तीमा पाँच दिन हात्तीको प्रवेश नियन्त्रण गर्न सके पाकेको धान सुरक्षित रूपमा भित्र्याउन सकिने भन्दै प्रशासनसँग आग्रह गरेका थिए।

किसानको मागपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले थप सुरक्षाकर्मी परिचालन गरी स्थानीय समुदायसँग समन्वय गरेर हात्तीको प्रवेश नियन्त्रण गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका थिए।

प्रशासनले सुरक्षा निकाय र स्थानीय समुदायबीच सहकार्य गर्दै हात्तीको आवागमन नियन्त्रण गर्ने तथा किसानलाई सुरक्षित रूपमा धान भित्र्याउने वातावरण बनाउने जनाएको छ।