एनपीएलमा आज विश्राम, भोलि पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा लिग चरणका खेल सम्पन्न भएसँगै आज विश्राम दिइएको छ।

लिग चरणको प्रदर्शनका आधारमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान सुरक्षित गरेका छन्।

अब पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। उक्त खेल भोलि हुनेछ। पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले फाइनल पुग्ने अर्को अवसर पाउनेछ।

त्यस्तै, इलिमिनेटरमा काठमाडौं गोर्खाजले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल पर्सि हुनेछ। इलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ।

दोस्रो क्वालिफायर बिहीबार हुनेछ। यस खेलमा पहिलो क्वालिफायरको पराजित टोली र इलिमिनेटरको विजेताबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो क्वालिफायरको विजेताले फाइनलमा स्थान बनाउनेछ।

एनपीएलको उपाधिका लागि फाइनल खेल मंसिर ५ गते हुनेछ।