पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

भोजपुर । भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित कपासे भञ्ज्याङ पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पदमार्ग, प्रवेशद्वार, विश्रामस्थल तथा सुम्निमा–पारुहाङको सालिकलगायतका संरचना निर्माण भएपछि यहाँ पर्यटकको आवागमन बढ्न थालेको हो ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कले कपासे भञ्ज्याङको पर्यटन विकासका लागि मझुवा–कपासे भञ्ज्याङ पदमार्ग र विश्रामस्थल निर्माण गरेको छ । पूर्वाधार निर्माणसँगै पर्यटकलाई यस क्षेत्रमा पुग्न सहज भएको छ । दुई जिल्लाको सङ्गमस्थल भएकाले कपासे भञ्ज्याङको विकासका लागि भोजपुर र खोटाङका स्थानीय तहबीच सहकार्यसमेत भइरहेको छ ।

कपासे भञ्ज्याङलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङले बताए । उनका अनुसार खोटाङको खोटेहाङ गाउँपालिकासँगको सहकार्यमा यस क्षेत्रको पर्यटन विकासका काम अघि बढाइएको छ ।

“कपासे भञ्ज्याङमा पर्यटकीय सम्भावना प्रशस्त छ । यसको विकासका लागि हामी जुटेका छौँ”, उनले भने, “वडाको बजेटबाट प्रवेशद्वार र पदमार्ग निर्माण गरेका छौँ । यस क्षेत्रलाई स्थापित पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ ।”

कपासे भञ्ज्याङलाई ग्रेटर मुन्दुम पदमार्गसँग जोड्ने लक्ष्यका साथ पर्यटन पूर्वाधार निर्माण भइरहेको वडा कार्यालयले जनाएको छ । प्राकृतिक सौन्दर्य, भौगोलिक अवस्थिति र सांस्कृतिक महत्वलाई पर्यटनसँग जोड्न सके कपासे भञ्ज्याङ पूर्वी पहाडकै आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने वडाध्यक्ष माङ्गपाहाङको विश्वास छ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछि स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग पुगेको स्थानीय बबिन्द्र राईले बताए । पर्यटकलाई लक्षित गरी आवश्यक संरचना निर्माण गरिएसँगै स्थानीयस्तरमा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

“पर्यटक लक्षित संरचना निर्माण भएपछि यस क्षेत्रको विकासमा टेवा पुगेको छ”, उनले भने, “दुई जिल्लाका स्थानीय सरकारले यहाँको विकासका लागि आवश्यक काम गरिरहेका छन् । घुम्न आउने मानिसको सङ्ख्या बढ्दै गएको छ । यसले स्थानीय कृषि उत्पादनको बजारीकरणमा पनि सहयोग पुर्‍याएको छ ।”

कपासे भञ्ज्याङको थप प्रचारप्रसार, पर्यटन पूर्वाधार विस्तार र स्थानीय उत्पादनको बजारीकरणलाई प्रभावकारी बनाउन सके यस क्षेत्रको आर्थिक तथा पर्यटकीय गतिविधिमा थप वृद्धि हुने स्थानीयको अपेक्षा छ ।