काठमाडौँ । बंगलादेशको प्रतिबन्धित राजनीतिक दल अवामी लिगका सयौँ कार्यकर्ताले आइतबार पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा उनीहरूले प्रहरीका अवरोध तोड्दै विभिन्न सार्वजनिक संरचना, स्मारक तथा प्रहरीका सवारीसाधनमा तोडफोड गरेका छन्।
प्रदर्शनकारीले सडकमा टायर बालेर यातायातसमेत अवरुद्ध पारेका थिए।
स्थानीय सञ्चारमाध्यमका अनुसार बिहान ११ बजेदेखि दिउँसो १ः४५ बजेसम्म गोपालगञ्जका विभिन्न स्थानमा प्रदर्शन भएको थियो। जिल्लाका विभिन्न युनियन तथा बस्तीबाट आएका अवामी लिग, युवा लिग र छात्र लिगका कार्यकर्ताले जुलुस निकाल्दै शेख हसिना र पार्टीको समर्थनमा नाराबाजी गरेका थिए।
प्रदर्शनकारीहरू राष्ट्रिय झण्डासहित लाठी, खुकुरी, भाला, बन्चरो र बाँसबाट बनेका हतियार बोकेर सडकमा उत्रिएका थिए। प्रदर्शनमा महिला कार्यकर्ताको पनि उल्लेख्य सहभागिता रहेको थियो।
जुलुस लन्च घाट, वुमेन्स कलेज र शिल्पकला एकेडेमी हुँदै पुरानो लन्च घाट पुलनजिक पुगेको थियो। त्यसपछि प्रदर्शनकारीले बैंकपारास्थित अवामी लिगको जिल्ला कार्यालयमा प्रवेश गरी लामो समयदेखि बन्द रहेको कार्यालय खोलेका थिए। कार्यालय खुलेपछि उनीहरूले उत्सवसमेत मनाएका थिए।
प्रदर्शनका क्रममा लन्च घाटनजिक रहेको जुलाई स्मारकमा तोडफोड गरिएको छ। गोपालगञ्ज विज्ञान तथा प्रविधि विश्वविद्यालयस्थित हादी स्क्वायरको नामपट्टी हटाएर पुनः ‘जय बङ्गला चत्तर’ नाम राखिएको छ। त्यस्तै, गोपालगञ्ज सरकारी कलेजको मुख्य प्रवेशद्वारमा रहेको नामपट्टी हटाउँदै ‘गभर्मेन्ट बङ्गबन्धु कलेज’ लेखिएको ब्यानर राखिएको छ।
प्रदर्शनकारीले एउटा सुपरमार्केटका सिसा फुटाउनुका साथै विभिन्न स्थानमा टायर बालेर विरोध जनाएका थिए। उनीहरूले प्रहरीको बख्तरबन्द गाडीमा चढेर नाराबाजी गर्नुका साथै गाडीको पछाडिको ऐना फुटाएका थिए। गाडीमा रातो रङले ‘जय बङ्गला, जय बङ्गबन्धु’ समेत लेखिएको थियो। प्रहरी बिटका सिसासमेत फुटाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रदर्शनलाई मध्यनजर गर्दै गोपालगञ्जमा प्रहरी, सीमा सुरक्षा बल (बीजीबी), विशेष प्रतिक्रिया बटालियन र सशस्त्र प्रहरीसहित ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। विशेषगरी लन्च घाट, बजार क्षेत्र र जिल्ला प्रशासन कार्यालय आसपास सुरक्षा व्यवस्था कडा पारिएको थियो।
बंगलादेश सरकारले घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। गृह मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार स्थिति नियन्त्रणबाहिर जान नदिन सरकारले आवश्यक सतर्कता अपनाएको थियो। तत्काल बल प्रयोग गर्दा मानवीय क्षति हुन सक्ने जोखिम रहेकाले सुरक्षाकर्मीलाई संयमता अपनाउन निर्देशन दिइएको थियो।
घटनापछि गोपालगञ्जमा बीजीबीका छ प्लाटुन सुरक्षाकर्मी परिचालन गरिएको थियो। पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला भएकाले गोपालगञ्जलाई अवामी लिगको प्रभावशाली क्षेत्रका रूपमा लिइन्छ।
सन् २०२४ को जुलाईमा भएको जनविद्रोहपछि हसिना नेतृत्वको सरकार ढलेको थियो। त्यसयता उनी सन् २०२४ अगस्टदेखि भारतमा निर्वासनमा बस्दै आएकी छन्।
यसैबीच, अवामी लिगले नोभेम्बर १४ देखि १९ सम्म देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ। पार्टीले नोभेम्बर १७ लाई ‘कालो दिवस’का रूपमा मनाउने र नोभेम्बर १९ मा देशव्यापी बन्द आह्वान गरेको छ।
अवामी लिगका संगठन सचिव एसएम कमल हुसेनले शेख हसिना डिसेम्बरमा बंगलादेश फर्किने दाबी गरेका छन्। पार्टीले उनको स्वदेश फिर्तीका लागि देशव्यापी आन्दोलनको तयारी गरिरहेको उनको भनाइ छ।
त्यस्तै, गोपालगञ्ज जिल्ला अवामी लिगका कार्यालय सचिव इलियास हकले हसिनालाई स्वदेश फर्काउन नसक्दासम्म सडक आन्दोलन जारी राख्ने बताएका छन्।





