झापा । झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बामा अज्ञात व्यक्तिले धानको कुन्यूमा आगो लगाउँदा करिब ९० मन धान र पराल जलेर नष्ट भएको छ ।
घैलाडुब्बा पशुहाटबाट उत्तरतर्फ रहेको लोक बाह्रकोटीको १८ कट्ठा जग्गामा स्थानीय महबुब आलमले उत्पादन गरेको धानको कुन्यूमा गएराति आगजनी भएको हो ।
आगलागीबाट धान र पराल गरी करिब एक लाख ५१ हजार रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाबारे जानकारी दिँदै आगजनीको कारण र संलग्न व्यक्तिको पहिचान गर्न आवश्यक अनुसन्धान भइरहेको बताएका छन् ।





