खराब कर्जा असुलीमा अर्थमन्त्री डा वाग्लेको जोड

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल बैंक लिमिटेडलाई वित्तीय अनुशासन कायम गर्दै खराब कर्जा असुलीलाई प्राथमिकता दिन निर्देशन दिएका छन् । उनले बैंकलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न पनि आग्रह गरेका छन् ।

नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोहको सोमबार उद्घाटन गर्दै अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रको सुशासन, पारदर्शिता र वित्तीय अनुशासनमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

नेपालको बैंकिङ इतिहासमा महत्वपूर्ण योगदान पुर्‍याएको यस बैंकले सुशासनको उच्च मापदण्ड कायम गर्दै डिजिटल रूपान्तरणमार्फत सेवाग्राहीलाई सरल र सहज बैंकिङ सेवा उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।

उनले सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि सारेका तीनबुँदे कार्यसूची पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताए । बैंकका कामकारबाही पारदर्शी बनाउँदै जनविश्वास कायम राख्न, संस्थागत कमजोरी सुधार गर्न तथा तथ्याङ्कको सुरक्षामा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

आगामी दिनमा डिजिटल बैंकिङको विस्तार, लघु, साना तथा मझौला उद्यमलाई सहज वित्तीय पहुँच, हरित अर्थतन्त्रको प्रवर्द्धन र वित्तीय साक्षरता अभिवृद्धिमा बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने अर्थमन्त्री वाग्लेले बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले नेपालमा बैंकिङ इतिहासको सुरुआत गरेको नेपाल बैंकले बचत संस्कृतिको विकास, आर्थिक स्रोत परिचालन र पुँजी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए । साथै, मुलुकको औद्योगिक तथा व्यापारिक गतिविधिको विकास र विस्तारमा पनि बैंकको भूमिका उल्लेखनीय रहेको उनले उल्लेख गरे ।

प्रमुख कार्यकारी अधिकृत पाण्डेयका अनुसार बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ, निक्षेप चार खर्ब १६ अर्ब रुपैयाँ र कर्जा दुई खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात ४.१८ प्रतिशत रहेको छ भने ग्राहक सङ्ख्या २९ लाख २४ हजार र कर्मचारी सङ्ख्या तीन हजार ६०० पुगेको छ ।

त्यस्तै, बैंकका २५० वटा एटीएम सञ्चालनमा रहेका छन् भने मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या १० लाख पुगेको छ । बैंकले हाल ७१ जिल्लामा शाखा विस्तार गरेको पाण्डेयले जानकारी दिए । रासस