रारा जिप दुर्घटना अपडेट : थप एकको मृत्यु, मृतकको संख्या ४ पुग्यो

मुगु । मुगुको रारा जाने सडकमा भएको जिप दुर्घटनामा घाइते भएकी थप एक महिलाको मृत्यु भएको छ । उपचारका क्रममा ललितपुर महानगरपालिका–१५ निवासी ५४ वर्षीया अञ्जु थापाको मृत्यु भएको हो ।

अञ्जुको मृत्युसँगै दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका जिप चालक ५८ वर्षीय कञ्चन थापा र अञ्जुलाई थप उपचारका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत हुँदै काठमाडौं ल्याइएको थियो । उनीहरूलाई काठमाडौंस्थित बिएण्डबी अस्पतालमा भर्ना गरिएकोमा अञ्जुको उपचारकै क्रममा मृत्यु भएको हो । चालक कञ्चनको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घटनास्थलमै मृत्यु भएका तीन जनाको शव पनि काठमाडौं ल्याइएको छ । मृत्यु हुनेमा काठमाडौंको कलङ्की निवासी ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका छन् । उनीहरूको शव सेनाको हेलिकप्टरबाट सुर्खेत पुर्‍याएर त्यहाँबाट शववाहनमार्फत काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

काठमाडौंस्थित रारा तालतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०१७ च १८६४ नम्बरको हाइलक्स गाडी आइतबार साँझ मुगुको छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित जिमाकाँरा भिरबाट करिब ६०० मिटर तल खसेर दुर्घटना भएको थियो ।