काठमाडौं: नेपाल आयल निगमले चाडपर्व र उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ। निगम सञ्चालक समितिको कात्तिक ३० गते बसेको बैठकले सो निर्णय गरेको हो।
इण्डियन आयल कर्पोरेशनबाट कात्तिक २९ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार समायोजन गर्नुपर्ने भए पनि मूल्य यथावत राखिएको निगमले जनाएको छ। हालको मूल्य कायम राख्दा निगमलाई पाक्षिक रूपमा १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने देखिएको छ। मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उतारचढाव भइरहेकाले स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न नसकिएको निगमको भनाइ छ।
निगमका अनुसार पहिलो वर्गका क्षेत्रहरू चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा इन्धनको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा छ। त्यसैगरी, दोस्रो वर्गअन्तर्गतका सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ तथा तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर २०० रुपैयाँ मूल्य कायम गरिएको छ। यो मूल्य निगमको डिपो तथा कार्यालयबाट १५ किलोमिटरको दायरासम्म लागू हुनेछ।





