कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

बाँके । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब १० करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको नेपालगन्जस्थित कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ । उपमहानगरपालिकाले ठूलो लगानीमा निर्माण गरेका संरचना भत्किन थालेका छन् भने ताल परिसर झाडी र बुट्यानले ढाकिँदा यसको प्राकृतिक सौन्दर्यसमेत हराउँदै गएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको ताल क्षेत्रमा निर्माण गरिएका रेलिङलगायतका पूर्वाधार भत्किएका छन् । पर्यटक आकर्षित गर्ने उद्देश्यले बनाइएका संरचनाको सामान्य मर्मतसम्भारसमेत नहुँदा करोडौँको लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको स्थानीयको गुनासो छ ।

नेपालगन्ज–२२ पुरैनीका स्थानीय चेतबहादुर थापाले संरक्षण र रेखदेखको अभावमा कान्ति तालको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको बताए । ताललाई पर्यटकीयस्थल बनाउने नाममा ठूलो बजेट खर्च गरिए पनि अहिले संरचना भत्किएको र झाडी बढेको उनको भनाइ छ ।

सम्बन्धित निकायलाई पटकपटक जानकारी गराउँदासमेत सुनुवाइ नभएको उल्लेख गर्दै उनले तालको संरक्षणमा तत्काल ध्यान दिनुपर्ने बताए ।

थापाका अनुसार कान्ति ताल पर्यटनका दृष्टिले मात्र नभई जैविक विविधताको संरक्षणका लागि पनि महत्त्वपूर्ण क्षेत्र हो । विभिन्न प्रजातिका चराचुरुङ्गीको प्राकृतिक बासस्थान रहेको तालको उचित संरक्षण हुन नसक्दा यसको पर्यावरणीय महत्त्वसमेत जोखिममा परेको छ ।

उनले तालको प्राकृतिक स्वरूप जोगाउन सके पर्यटन प्रवर्द्धनसँगै जैविक विविधताको संरक्षणमा पनि योगदान पुग्ने बताए ।

पर्यावरण तथा चरा संरक्षणमा सक्रिय अभियानकर्मीले पनि कान्ति तालको प्राकृतिक स्वरूप जोगाउँदै पुरानै अवस्थामा फर्काउन माग गर्दै आएका छन् । तर, संरक्षणका लागि प्रभावकारी पहल नहुँदा तालको अवस्था सुधार हुन सकेको छैन ।

ताल सञ्चालनका लागि वार्षिक २८ लाख रुपैयाँ राजस्व बुझाउने सम्झौतासहित जिम्मेवारी लिएका फनबहादुर गुरुङले पनि ताल परिसरका संरचनामा क्षति पुगेको बताए ।

उनका अनुसार तालमा निर्माण गरिएका रेलिङ तथा अन्य पूर्वाधार तोडफोड भएका छन् । लागुऔषध प्रयोगकर्ताबाट संरचनामा क्षति पुगेको हुनसक्ने आशङ्का व्यक्त गर्दै उनले नियमित रेखदेख र सुरक्षाको प्रभावकारी व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतमा बनाइएका योजनाले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको स्वीकार गरेका छन् । उनले सरोकारवाला निकायसँग छलफल गरी तालको दिगो संरक्षण र व्यवस्थापनका लागि नयाँ योजना बनाउने तयारी भइरहेको जानकारी दिए ।

विगतका योजनाले सोचेअनुसार नतिजा दिन नसकेको उल्लेख गर्दै उनले अब सम्बन्धित निकायका प्रतिनिधिसँग गहन छलफल गरेर प्रभावकारी योजना अघि बढाइने बताए ।

उपमहानगरपालिकाले नयाँ योजना बनाउने बताए पनि यसअघि खर्च गरिएको रकमको उपलब्धि र निर्माण भएका संरचनाको संरक्षणमा देखिएको कमजोरीबारे प्रश्न उठ्न थालेको छ । सात वर्षअघि सुरु गरिएको योजनाले अपेक्षित गति लिन नसक्दा ताल विकासका लागि गरिएको ठूलो लगानी नै खेर जाने जोखिम बढेको छ ।

नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले कान्ति तालको तत्काल संरक्षण र व्यवस्थापन गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए ।

उनले कान्ति ताल नेपालगन्जको पर्यटन र आर्थिक समृद्धिसँग जोडिएको महत्त्वपूर्ण सम्पत्ति भएकाले जीर्ण अवस्थामा छाड्न नहुने उल्लेख गरे । निर्माण भएका संरचनाको मर्मतसम्भार र तालको प्राकृतिक तथा पर्यटकीय महत्त्व संरक्षणका लागि उपमहानगरपालिकाले तत्काल पहल गर्नुपर्ने उनको भनाइ छ ।

पर्यटन प्रवर्द्धन र जैविक विविधता संरक्षणको सम्भावना बोकेको कान्ति तालको अवस्था सुधार गर्न स्थानीयले प्रभावकारी व्यवस्थापन योजना, नियमित रेखदेख र संरचनाको मर्मतसम्भारलाई प्राथमिकता दिन माग गरेका छन् ।