नारायणगढ । मुक्तिनाथबाट सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार नवलपुरस्थित गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) आइपुगेपछि सम्पन्न भएको छ ।
मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथबाबा)को सत्सङ्कल्पमा गत कात्तिक ८ गते सुरु भएको रथयात्राले देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गरेको थियो । मेचीदेखि महाकालीसम्म पुगेर पुनः त्रिवेणीधाम फर्किएको रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिए ।
उनका अनुसार रथयात्राका क्रममा देशका विभिन्न स्थानबाट मेची र महाकालीको जल सङ्कलन गरिएको छ । उक्त जल गण्डकी नदीमा अर्पण गरिनेछ । रथयात्रा त्रिवेणीधाम आइपुग्दा स्वागत तथा दर्शनका लागि स्थानीय भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो ।
रथयात्रा सम्पन्न भएसँगै त्रिवेणीधाममा आजदेखि एकमहिने महायज्ञ सुरु हुँदैछ । महायज्ञको पहिलो दिन बिहान ८ बजे गौशालामा सामूहिक गौपूजा, ९ बजे गण्डकी पूजन र १० बजे बाजागाजा तथा भजनकीर्तनसहित कलश यात्रा गर्ने कार्यक्रम रहेको छ ।
गण्डकी नदीको तट हुँदै धामको परिक्रमा गरी यज्ञस्थल पुग्ने कलश यात्रापछि भगवान् मुक्तिनाथको सन्निधिमा सामूहिक सङ्कल्प, कन्या पूजा तथा दीप प्रज्वलन गरिनेछ । बिहान ११ः३५ बजे दीप प्रज्वलन गरी महायज्ञको औपचारिक उद्घाटन गरिने प्रवक्ता प्रपन्नाचार्यले बताए ।
मुक्तिनाथबाबा स्वामी कमलनयनाचार्यका अनुसार एकमहिने महायज्ञमा धान्याचल, पितृमुक्ति यज्ञ, हवन तथा भागवत प्रवचनलगायत धार्मिक अनुष्ठान सञ्चालन गरिनेछन् ।
प्राकृतिक विपत्ति, सडक दुर्घटना, आन्दोलन, अतिवृष्टि, अनावृष्टि तथा कोरोना महामारीलगायत विभिन्न कारणले दिवङ्गत भएकाहरूको आत्माको उद्धार र शान्तिको कामनासहित पितृमुक्ति महायज्ञ आयोजना गर्न लागिएको उनले बताए ।
मुक्तिनाथबाबाले महायज्ञमा सहभागी भई यज्ञशालाको परिक्रमा, जप तथा ध्यान गर्न श्रद्धालु भक्तजनलाई आग्रह गरेका छन् ।





