गुल्मी । हरियाली जंगल, शान्त वातावरण र मनोरम प्राकृतिक दृश्यले गुल्मीको रेसुङ्गा पार्क आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। रेसुङ्गाको गर्जुरा क्षेत्रमा निर्माण गरिएको पार्क सञ्चालनमा आएपछि जिल्लामा पर्यटकको चहलपहल बढ्न थालेको हो।
सदरमुकाम तम्घासबाट करिब तीन किलोमिटर दूरीमा रहेको पार्कसम्म पुग्ने सडक कालोपत्र भएपछि पर्यटकलाई आवतजावत गर्न सहज भएको छ। विशेषगरी सार्वजनिक बिदाका दिन परिवार तथा साथीसँग घुम्न र वनभोज खान आउनेहरूको भीड लाग्ने गरेको छ।
बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि उपयुक्त गन्तव्य बनेको पार्क युवापुस्तामाझ पनि लोकप्रिय बन्दै गएको छ। यहाँका आकर्षक संरचना र प्राकृतिक सौन्दर्यका कारण तस्बिर तथा भिडियो खिच्ने र सामाजिक सञ्जालमा साझा गर्नेहरूको संख्या बढ्दो छ।
गुल्मीबाट रोजगारी तथा अध्ययनका लागि विदेशमा रहेका नेपालीसमेत बिदामा घर फर्किएका बेला पार्क घुम्न पुग्ने गरेका छन्।
रेसुङ्गा नगरपालिका–१, तम्घास घर भई हाल फिनल्यान्डमा बस्दै आएका मिलन खराल पार्क निर्माणपछि पहिलोपटक घुम्न आएको बताउँछन्। सामाजिक सञ्जालमा पार्कका तस्बिर तथा भिडियो देखेपछि यहाँ आउने इच्छा जागेको उल्लेख गर्दै उनले प्रत्यक्ष अवलोकन गर्दा पार्कको संरचना र प्राकृतिक वातावरण निकै आकर्षक लागेको बताए।
त्यस्तै, मुसिकोट नगरपालिका–५ घर भई हाल लन्डनमा बस्दै आएका फणीन्द्र भट्टराईले पनि घर बिदामा आएका बेला पार्क घुम्न पाउँदा खुसी लागेको बताए। पार्कमा निर्माण गरिएका संरचना र हरियाली वातावरणले आफूलाई आकर्षित गरेको उनको भनाइ छ।
मुसिकोट नगरपालिका–३ घर भई हाल हङकङमा रहेकी शान्ति केसीले पनि गाउँ फर्किएका बेला पहिलोपटक पार्क अवलोकन गरेको बताइन्। जन्मथलोमा यति सुन्दर पर्यटकीय पूर्वाधार निर्माण भएको देख्दा खुसी लागेको उल्लेख गर्दै उनले प्रकृतिसँग रमाउँदै तस्बिर तथा भिडियो खिचेको अनुभव सुनाइन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र रेसुङ्गा नगरपालिकाको साझेदारीमा ६ करोड रुपैयाँभन्दा बढी लगानी गरेर पार्क निर्माण गरिएको हो। निर्माण सम्पन्न भएको छोटो समयमै पार्कले पर्यटक आकर्षित गर्न थालेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार हालसम्म ४० हजारभन्दा बढीले पार्कको अवलोकन गरिसकेका छन्। पार्क प्रवेशका लागि टिकट बिक्रीबाट करिब १५ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
पार्क प्रवेशका लागि नगरपालिकाले शुल्कसमेत निर्धारण गरेको छ। सर्वसाधारणका लागि ५० रुपैयाँ, ज्येष्ठ नागरिक, विद्यार्थी तथा बालबालिकाका लागि २५ रुपैयाँ र विदेशी पर्यटकका लागि १०० रुपैयाँ शुल्क तोकिएको छ।
पार्कमा भ्यूटावर, पिङ, वनभोजस्थल, फोटो खिच्ने स्थान, बालबालिकाका लागि खेल क्षेत्र, पोखरी र पुललगायतका संरचना निर्माण गरिएका छन्।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले पार्क निर्माणले जिल्लाको पर्यटन प्रवर्धनमा नयाँ आयाम थपेको बताए। रेसुङ्गा क्षेत्रको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्व उजागर गर्दै बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले पार्क निर्माण गरिएको उनको भनाइ छ।
पार्कले पर्यटकीय गतिविधि बढाउनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउन सहयोग पुर्याएको प्रमुख पन्थीले बताए।
नगरपालिकाले रेसुङ्गा क्षेत्रमा थप पर्यटन पूर्वाधार निर्माणलाई पनि प्राथमिकता दिएको छ। पर्यटन प्रवर्धनकै लागि एक करोड रुपैयाँभन्दा बढी लगानीमा रेसुङ्गाको नुनामारेदेखि पार्कसम्म जिपलाइन र स्काई साइकलिङजस्ता साहसिक तथा मनोरञ्जनात्मक पूर्वाधार निर्माण गरिएको छ।
धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्व बोकेको रेसुङ्गा क्षेत्रमा पर्यटकीय पूर्वाधार थपिँदै जाँदा गुल्मीलाई आन्तरिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।





