नेपालको सार्वभौम क्रेडिट रेटिङ अङ्क बढेर ३.६६ पुग्यो

काठमाडौँ । नेपालको सार्वभौम क्रेडिट रेटिङ स्कोरमा सुधार आएको छ । अन्तर्राष्ट्रिय रेटिङ संस्था फिचले नेपालको स्कोर गत वर्षको तुलनामा ०.१९ अङ्कले बढाएर ३.६६ पुर्‍याएको हो ।

अर्थ मन्त्रालयका अनुसार फिचको सोभरेन रेटिङ मोडल (एसआरएम) मा गत वर्ष नेपालको स्कोर ३.४७ रहेकामा यस वर्ष बढेर ३.६६ पुगेको छ । फिचको मूल्याङ्कन प्रणालीमा ‘बीबी–’ (डबल बी माइनस) रेटिङ प्राप्त गर्न न्यूनतम ३.५ अङ्क आवश्यक पर्छ ।

गत वर्ष नेपालको स्कोर न्यूनतम सीमाभन्दा कम रहे पनि गुणात्मक मूल्याङ्कनका आधारमा एक तह थप गरी ‘बीबी–’ रेटिङ दिइएको थियो । तर, यस वर्ष भने कुनै अतिरिक्त सहुलियतबिना नै नेपालको आफ्नै मूल्याङ्कन स्कोरका आधारमा उक्त रेटिङ प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

फिचले लगातार तेस्रो वर्ष नेपालको सार्वभौम क्रेडिट रेटिङ ‘बीबी–’ मा कायम राखेको हो ।

रसुवा, बूढीगण्डकीलगायत क्षेत्रमा गएको विनाशकारी बाढीबाट उत्पन्न प्रतिकूल परिस्थितिका बाबजुद नेपालको रेटिङ स्कोर बढ्नु महत्वपूर्ण उपलब्धि भएको मन्त्रालयको भनाइ छ ।

सरकारले अघि बढाएका सुशासनसम्बन्धी कदम तथा समग्र आर्थिक सुधारका कार्यक्रमले नेपालको सार्वभौम क्रेडिट रेटिङमा सकारात्मक प्रभाव पारेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सार्वभौम क्रेडिट रेटिङले कुनै देशको आर्थिक अवस्था, वित्तीय स्थायित्व र ऋण दायित्व भुक्तानी गर्न सक्ने क्षमताको मूल्याङ्कन गर्छ । यसले अन्तर्राष्ट्रिय वित्तीय बजारमा मुलुकको विश्वसनीयता, वैदेशिक लगानीको वातावरण तथा बाह्य ऋण प्राप्त गर्ने क्षमताको आकलन गर्न महत्वपूर्ण आधार प्रदान गर्छ ।