काठमाडौं । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नेपाललाई विश्व चलचित्र उद्योगको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले आयोजना हुन लागेको नेपाल ग्लोबल फिल्म फेस्टिभल (एनजीएफएफ) २०२७ को तयारी तीव्र पारिएको छ ।
नेपाल फिल्म एण्ड मिडिया एकेडेमीको आयोजनामा आगामी सन् २०२७ फेब्रुअरी १९ देखि २२ (फागुन ७ देखि १० गते) सम्म काठमाडौंमा महोत्सव सञ्चालन हुनेछ । महोत्सवमा विश्वका विभिन्न देशबाट करिब १०० जना चलचित्रकर्मी, सञ्चारकर्मी तथा चलचित्र उद्योगका विशिष्ट व्यक्तित्व सहभागी हुने आयोजकले जनाएको छ ।
महोत्सवको पहिलो संस्करणका लागि विश्वका विभिन्न देशबाट ५०० भन्दा बढी फिचर फिल्म, सर्ट फिल्म तथा डकुमेन्ट्री प्राप्त भएका छन् । पहिलो संस्करणमै उल्लेख्य संख्यामा अन्तर्राष्ट्रिय चलचित्र प्राप्त हुनुले महोत्सवप्रति विश्व चलचित्र क्षेत्रको आकर्षण बढ्दै गएको आयोजकको विश्वास छ ।
‘हिमालदेखि सागरसम्मका कथाहरूको उत्सव’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सवमा प्राप्त चलचित्रमध्ये करिब १०० उत्कृष्ट चलचित्र छनोट गरी चार दिनसम्म प्रदर्शन गरिनेछ ।
चलचित्र छनोटका लागि निर्देशक सुवर्ण थापाको नेतृत्वमा समिति गठन गरिएको छ । छनोट भएका चलचित्रमध्ये उत्कृष्टलाई निर्देशक अशोक शर्माको नेतृत्वमा रहने नेपाली तथा विदेशी जुरीले विभिन्न विधामा नगद पुरस्कारसहित अवार्ड प्रदान गर्नेछन् ।
महोत्सवका निर्देशक गणेश पाण्डेले पहिलो संस्करणमै विश्वभरबाट ५०० भन्दा बढी चलचित्र प्राप्त हुनुलाई उत्साहजनक उपलब्धि भएको बताए । यसले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवप्रति विश्वका चलचित्रकर्मीको विश्वास र चासो प्रतिबिम्बित गरेको उनको भनाइ छ ।
महोत्सवमा फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री, माउन्टेन फिल्म, वातावरण, मानवशास्त्र, मानवअधिकार, महिला तथा आदिवासी जनजातिका कथा र संस्कृतिमा आधारित चलचित्र समावेश गरिनेछ । त्यस्तै, एनिमेसन, विद्यार्थी चलचित्र र कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित चलचित्रलाई समेत विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ ।
महोत्सवमा हलिउड, बलिउड तथा चिनियाँ चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वलाई अतिथिका रूपमा सहभागी गराउने तयारी छ । आयोजक समितिका सदस्य फूलमान बलका अनुसार चलचित्र प्रदर्शनसँगै विशेष सम्मान, अन्तरक्रिया, चलचित्र कार्यशाला, प्यानल छलफल तथा अन्तर्राष्ट्रिय नेटवर्किङ कार्यक्रम पनि सञ्चालन गरिनेछ ।
एनजीएफएफले नेपाली चलचित्र, प्रतिभा र सिर्जनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नुका साथै विदेशी चलचित्र निर्माता तथा निर्देशकलाई नेपालमा चलचित्र निर्माणका सम्भावनाबारे जानकारी गराउने लक्ष्य राखेको छ । यसबाट चलचित्र पर्यटन, अन्तर्राष्ट्रिय सहकार्य तथा चलचित्र निर्माणमा विदेशी लगानीको सम्भावना विस्तार हुने अपेक्षा गरिएको छ ।
नेपालको प्राकृतिक सौन्दर्य, हिमाली भूगोल, सांस्कृतिक विविधता र मौलिक कथालाई विश्व चलचित्र जगत्मा चिनाउनु महोत्सवको अर्को महत्वपूर्ण उद्देश्य हो । युनेस्कोको ‘क्रिएटिभ सिटी अफ फिल्म’ अवधारणासँग जोड्दै काठमाडौंलाई चलचित्र सिर्जना, सहकार्य र सांस्कृतिक आदानप्रदानको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसमेत आयोजकले लिएको छ ।
महोत्सवलाई अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित चलचित्र उत्सवका रूपमा स्थापित गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र संस्था, कूटनीतिक नियोग, शैक्षिक संस्था, पर्यटन क्षेत्र र निजी क्षेत्रसँग सहकार्यका लागि छलफल भइरहेको आयोजकले जनाएको छ ।





