काठमाडौँ । वैदेशिक रोजगारीका नाममा ठगी गरी गैरकानुनी रूपमा रकम संकलन गरेर मलेसिया पठाएको आरोपमा नेपाल प्रहरीले पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन् । त्यस्तै, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सहसचिव) उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङ पक्राउ परेका छन् ।
सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न निकायबाट प्राप्त पत्र तथा विकास रनाभाटसमेतको जाहेरीका आधारमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको हो ।
नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानुनी रूपमा रकम संकलन गरी मलेसिया पठाउने निर्णयमा उनीहरू संलग्न रहेको प्रहरीको आरोप छ । संकलित रकममध्ये अमेरिकी डलर र बेलायती पाउन्डसमेत ठूलो परिमाणमा मलेसिया पठाइएको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ ।
प्रहरीका अनुसार सम्झौताको दायरा र कानुनी प्रक्रियाविपरीत अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गरिएको थियो । यसबाट मुलुकको अर्थतन्त्रमा प्रतिकूल असर पर्ने निर्णय गर्दै संगठित समूहको लाभका लागि सार्वजनिक पद र जिम्मेवारीको दुरुपयोग गरेको आरोप उनीहरूमाथि लगाइएको छ ।
गैरकानुनी रूपमा संकलित रकम कानुनी प्रक्रिया पूरा नगरी मलेसिया पठाउने कार्यमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान गर्न सीआईबीले काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ पुर्जीको अनुमति लिएको थियो ।
प्रहरीले उनीहरूलाई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।





