म्याग्दी । वन्यजन्तुको अवैध चोरीसिकार तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले म्याग्दी प्रहरीले सञ्चालन गरेको ‘ब्राबोसेरा’ अभियानअन्तर्गत हालसम्म १७२ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ ।
अभियानकै क्रममा बुधबार मालिका गाउँपालिका–५ मगरदाङको घरथोकस्थित वन क्षेत्रमा लुकाएर राखिएका सात थान भरुवा बन्दुक बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ती हतियार फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।
यसअघि गत आइतबार पनि सोही वडाको पन्थोकस्थित वन क्षेत्रबाट पाँच थान भरुवा बन्दुक बरामद गरिएको थियो । पछिल्लो समय मालिका गाउँपालिकाका विभिन्न वन क्षेत्रबाट मात्रै १२ थान अवैध बन्दुक फेला परेका छन् ।
म्याग्दी प्रहरीले २०८२ मङ्सिर १५ गतेदेखि अवैध हातहतियार नियन्त्रणका लागि ‘ब्राबोसेरा’ अभियान सञ्चालन गर्दै आएको छ । ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना तथा सामुदायिक वनमा हुने चोरीसिकार नियन्त्रण गर्नुका साथै अवैध हतियारको प्रयोगबाट हुन सक्ने आपराधिक घटना न्यूनीकरण गर्नु अभियानको मुख्य उद्देश्य रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए ।
प्रहरीले जिल्लाका छवटै स्थानीय तहका वनजङ्गल, गोठ, खोल्साखोल्सी, रूखका टोड्का, खाली घर तथा जमिनमुनि लुकाएर राखिएका अवस्थामा हतियार बरामद गर्दै आएको छ । प्रहरीको कारबाहीबाट बच्न चोरीसिकारीले वनजङ्गलमै बन्दुक छाडेर भाग्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
अभियानलाई प्रभावकारी बनाउन स्थानीयवासीबाट प्राप्त सूचना र जनप्रतिनिधिसँगको समन्वय महत्त्वपूर्ण बनेको प्रहरीले जनाएको छ । अवैध हतियारबारे सूचना दिन आग्रह गर्दै प्रहरी निरीक्षक तिमिल्सिनाले सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने बताए ।
प्रचलित कानुनअनुसार इजाजतबिना हातहतियार राख्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।





