चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा चितुवा र दुम्सीको आतङ्क बढेपछि किसान पशुपालन तथा खेतीपातीबाटै विस्थापित हुने अवस्थामा पुगेका छन् । पछिल्लो नौ महिनामा चितुवाले पाँच किसानका १२ वटा बाख्रा तथा बोका मारेको छ ।

दमेकको गौडा, भैँसेखर्क र टापुका करिब २५ घरपरिवार खेतीपाती र पशुपालनमा निर्भर छन् । तर, चितुवाले पशुचौपायामाथि आक्रमण गर्ने र दुम्सीले खेतीबाली नष्ट गर्न थालेपछि उनीहरू समस्यामा परेका छन् ।

चितुवाले स्थानीय किसान गङ्गाधर सापकोटाका दुई बोका र एक पाठी, रत्न परियारका तीन, नारायण सापकोटाका दुई, महेन्द्र हमालका दुई तथा गङ्गाबहादुर ठकुरीका दुई बाख्रा तथा पाठा मारेको छ ।

चितुवाको आक्रमण बढेपछि किसानले खर्कमा पशु चराउनसमेत छाड्नुपर्ने अवस्था आएको गङ्गाधर सापकोटाले बताए । उनका अनुसार चितुवाले खर्कमै पुगेर चर्दै गरेका बाख्रामाथि आक्रमण गर्न थालेपछि पशुपालन व्यवसाय सञ्चालन गर्न कठिन भएको छ ।

“गौडा, भैँसेखर्क र टापुमा स्थानीयवासीको बसोबास रहे पनि धोद्रे, चिरपानी, खाल्टा, बात्थला र चौडिलालगायत गाउँ रित्तिँदै गएपछि चितुवा र दुम्सीको आतङ्क बढेको हो”, उनले भने, “छिमेकी गाउँ खाली भएपछि खेतबारी झाडीमा परिणत भएका छन् । त्यही कारण वन्यजन्तु बस्तीमा पस्न थालेका हुन् ।”

किसानले बाँदरलाई बारीबाट धपाउन सक्ने भए पनि चितुवा र दुम्सी नियन्त्रण गर्न नसकेको उनको भनाइ छ ।

अर्का किसान रत्न परियारले चितुवाले खर्कमै पुगेर बाख्रामाथि आक्रमण गर्ने र दुम्सीले खेतीबाली नष्ट गर्ने गरेपछि आफूहरू थप समस्यामा परेको बताए । उनले चितुवा धपाउन सहयोगी कुकुर उपलब्ध गराइदिन जैमिनी नगरपालिकासँग माग गरेको जानकारी दिए ।

आठ वर्षदेखि पशुपालन व्यवसाय गर्दै आएका सापकोटाले सुरुमा २० वटा गाई र २७ वटा बाख्रा पालेका थिए । तर, वन्यजन्तुको आक्रमण बढ्दै गएपछि उनले बाख्राको सङ्ख्या घटाउँदै लगेका छन् ।

जैमिनी नगरपालिकामा बढ्दो बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो रहन थालेको छ । खेतबारी झाडीमा परिणत हुँदा बाँदर, चितुवा र दुम्सीजस्ता वन्यजन्तुको गतिविधि बढेको स्थानीयको भनाइ छ ।

जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पाण्डेले नगरपालिकाबाट बसाइँसराइ गरेर जानेको सङ्ख्या बढी रहेको बताए । बसाइँसराइका कारण ग्रामीण बस्ती खाली हुँदै जाँदा बाँझो जमिन र झाडी विस्तारले स्थानीय किसानलाई थप समस्या पारेको छ ।