आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार चीनको दक्षिणी सहर सेन्जेनमा ऐतिहासिक त्रिपक्षीय वार्ता हुँदैछ । विश्वका तीन शक्तिशाली राष्ट्रका प्रमुख पहिलोपटक औपचारिक रूपमा एउटै वार्ताको टेबुलमा बस्न लागेका हुन् ।

एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन सेन्जेन पुगेका तीनै नेताबीच बुधबार सम्मेलनको औपचारिक तस्बिर खिचाउनुअघि संक्षिप्त भेटघाट भएको थियो । त्यसक्रममा उनीहरूले एकअर्कासँग हात मिलाउँदै संवादसमेत गरेका थिए ।

बुधबार नै सेन्जेन विमानस्थलमा अवतरण गरेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई चिनियाँ राष्ट्रपति सीले धावनमार्गमै पुगेर अँगालो हाल्दै स्वागत गरेका थिए । दशकौँपछि कुनै चिनियाँ सर्वोच्च नेताले विदेशी राष्ट्रप्रमुखलाई विमानस्थलमै पुगेर स्वागत गरेको यो दुर्लभ घटनालाई चीनको कूटनीतिक प्रभाव र शक्ति प्रदर्शनका रूपमा विश्लेषण गरिएको छ ।

गत सेप्टेम्बरमा सीको वासिङ्टन भ्रमणका क्रममा ट्रम्पले गरेको स्वागतको प्रत्युत्तरस्वरूप सीले यस्तो सम्मान दिएको बताइएको छ ।

बिहीबार दिउँसो करिब एक घण्टा सञ्चालन हुने त्रिपक्षीय बैठकमा युक्रेन र इरानमा जारी युद्ध, आणविक हतियार नियन्त्रण तथा अप्रसार, व्यापारिक तनाव र कृत्रिम बौद्धिकता (एआई) को विकासलगायतका विश्वव्यापी विषयमा छलफल हुने अपेक्षा गरिएको छ । यद्यपि, बैठकबाट तत्काल कुनै ठोस सम्झौता हुने सम्भावना कम रहेको कूटनीतिक विश्लेषकहरूको भनाइ छ ।

विश्लेषकहरूका अनुसार यस बैठकले ट्रम्पलाई विश्व राजनीतिमा परम्परागत शक्ति सन्तुलन र आफ्नो ‘प्रभाव क्षेत्र’ सम्बन्धी अवधारणा अघि बढाउने अवसर प्रदान गर्नेछ ।

त्यस्तै, पश्चिमी राष्ट्रहरूको कडा प्रतिबन्ध र कूटनीतिक एक्लोपन सामना गरिरहेका रुसी राष्ट्रपति पुटिनका लागि अमेरिकी र चिनियाँ राष्ट्रपतिसँग एउटै मञ्चमा बसेर वार्ता गर्नु ठूलो कूटनीतिक उपलब्धिका रूपमा हेरिएको छ ।