काठमाडौं । नेपालले सन् २०२७ जुन ३ मा विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने भएको छ। मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले बिहीबार नेपालको इंग्ल्यान्ड भ्रमणको खेल तालिका सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
एमसीसीको आयोजनामा हुने भ्रमणका क्रममा नेपालले लर्ड्समा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। सोही दिन लर्ड्समा मिडलसेक्सको टी–२० ब्लास्ट खेलसमेत आयोजना हुनेछ। यससँगै लर्ड्समा पुरुष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट प्रतियोगिता एकै दिन हुन लागेको यो पहिलो अवसर बन्नेछ।
बंगलादेशले लर्ड्समा पहिलोपटक पुरुष टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। यसअघि सन् २०२६ मा बंगलादेशको महिला टोलीले उक्त मैदानमा प्रतिस्पर्धा गरेको थियो। नेपाल भने लर्ड्समा दोस्रोपटक टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। यसअघि नेपालले सन् २०१८ मा नेदरल्यान्ड्ससँग लर्ड्समा खेलेको थियो।
इंग्ल्यान्ड भ्रमणका क्रममा नेपालले आयरल्यान्ड र स्कटल्यान्डसँग पनि विभिन्न फरम्याटका खेल खेल्नेछ। आईसीसीबाट मान्यताप्राप्त हुने ती खेलको तालिका एमसीसीले सार्वजनिक गरेको छ।
तालिकाअनुसार नेपालले सन् २०२७ जुन १ मा वर्म्स्लीमा स्कटल्यान्डसँग ५० ओभरको खेल खेल्नेछ। त्यसपछि जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ।
त्यस्तै, जुन ६ मा वर्म्स्लीमा आयरल्यान्डसँग ५० ओभरको खेल खेल्ने नेपालले जुन ९ मा सोही मैदानमा आयरल्यान्डसँग टी–२० खेल खेल्नेछ। भ्रमणको अन्तिम चरणमा नेपालले जुन ११ र १२ मा बेकनहममा आयरल्यान्डसँग लगातार दुई टी–२० खेल खेल्ने कार्यक्रम छ।
एमसीसीका अनुसार लर्ड्समा हुने नेपाल र बंगलादेशबीचको खेल नेपाली तथा बंगलादेशी दर्शकलाई लक्षित गर्दै टेलिभिजन प्रसारणको समय अनुकूल हुने गरी तय गरिएको हो। जुन ३ मा हुने टी–२० ब्लास्टको दोस्रो खेल भने प्रतियोगिताको घरेलु तालिका सार्वजनिक भएपछि निर्धारण गरिनेछ।






