थोरङ्ला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा मनाङ हुँदै थोरङ्ला पास पार गरेर आठ हजार ६४ जना पर्यटक मुस्ताङ भित्रिएका छन्। राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने यस पदमार्गबाट स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ पुगेका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार साउनदेखि कात्तिक मसान्तसम्म दुई हजार ८४१ स्वदेशी र पाँच हजार २२३ विदेशी पर्यटकले थोरङ्ला पास पार गरी मुस्ताङ प्रवेश गरेका छन्।

प्रहरीको तथ्याङ्कअनुसार स्वदेशी पर्यटकमध्ये दुई हजार ८०८ पुरुष र ३३ महिला छन्। त्यस्तै, विदेशी पर्यटकतर्फ तीन हजार ५७ पुरुष र दुई हजार १६६ महिला रहेका छन्।

पर्यटकको सङ्ख्या मासिक रूपमा हेर्दा साउनमा १३३, भदौमा ३९९, असोजमा एक हजार ३६८ र कात्तिकमा सबैभन्दा बढी छ हजार १६४ जना मुस्ताङ भित्रिएका छन्।

कात्तिक महिनामा मौसम अनुकूल बनेपछि थोरङ्ला पास पदयात्रा गर्ने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको हो। यद्यपि, असोज ११ गते थोरङ्ला पास क्षेत्रमा भएको भारी हिमपातका कारण पदमार्ग अवरुद्ध हुँदा पर्यटकको आवागमन प्रभावित भएको थियो। हिमपातका कारण दुई साताभन्दा बढी समय पदमार्ग बन्द भएको थियो।

अवरुद्ध पदमार्ग सञ्चालनमा ल्याउन मुस्ताङ र मनाङका पर्यटन व्यवसायी, सुरक्षाकर्मी तथा अन्य सरोकारवालाले हिउँ पन्छाएर आवागमन सहज बनाएका थिए।

लमजुङको बेँसीसहरबाट मनाङ हुँदै समुद्री सतहबाट पाँच हजार ४१६ मिटर उचाइमा रहेको थोरङ्ला पास पार गरेर पर्यटक मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ पुग्ने गर्छन्। साहसिक पदयात्राका लागि विश्वप्रसिद्ध मानिने यस मार्गबाट अन्नपूर्ण हिमालसहित आसपासका हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।

यस पदमार्गमा वर्षमा मुख्यतः दुई पदयात्रा सिजन रहने गरेका छन्। हिउँदयामअघि सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्यटकको चहलपहल बढी हुने गर्छ भने हिउँदयामपछि अप्रिल, मे र जुन महिनामा पनि स्वदेशी तथा विदेशी पर्यटकले थोरङ्ला पास पार गरी मुस्ताङको यात्रा गर्ने गर्छन्।