केरुङ नाका पुनः सञ्चालन गर्ने चीन लागिरहेको छः अध्यक्ष याङ्ग वानमिङ्ग

काठमाडौँ । चीनले रसुवाको केरुङ नाका पुनः सञ्चालनमा ल्याउन तयारी गरिरहेको जनाएको छ। चिनियाँ वैदेशिक जनमैत्री सङ्घका अध्यक्ष याङ वानमिङले भोटेकोशी बाढीपीडितलाई राहत उपलब्ध गराउने र प्रभावित क्षेत्रमा पुनर्निर्माणका काम अघि बढाउन पनि चीन इच्छुक रहेको बताएका छन्।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग आज भएको मैत्रीपूर्ण भेटमा अध्यक्ष वानमिङले चीनले आफ्नो क्षमताअनुसार नेपाललाई निरन्तर सहयोग र समर्थन गर्दै आएको उल्लेख गर्दै विपद्का बेला थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

तीनदिने नेपाल भ्रमणका क्रममा भक्तपुर पुगेका वानमिङसहितको प्रतिनिधिमण्डलले नगरप्रमुख प्रजापतिसँग द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल गरेको थियो। सो अवसरमा उनले भूकम्प, कोरोना महामारी र भोटेकोशी बाढीजस्ता विपद्का समयमा दुवै देशले एकअर्कालाई सहयोग गर्दै आएको बताए।

उनले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच ऐतिहासिक तथा रणनीतिक सम्बन्ध स्थापना गर्ने सहमति भएको स्मरण गरे। त्यसयता दुवै देशका नेतृत्वबीच आर्थिक, राजनीतिक, सांस्कृतिक, पर्यटन तथा युवा आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार हुँदै आएको उनको भनाइ थियो।

भेटमा नगरप्रमुख प्रजापतिले नेपाल र चीनबीच ऐतिहासिक कालदेखि नै घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको बताए। सातौँ शताब्दीमा तिब्बतका राजा स्रङचङ गम्पोसँग नेपाली राजकुमारी भृकुटीको विवाह तथा तेह्रौँ शताब्दीमा नेपाली कलाकार अरनिकोले तिब्बत र पेइचिङमा निर्माण गरेका कलाकृतिले दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई प्रस्ट पारेको उनले उल्लेख गरे।

सन् १९५५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएयता चीनले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको पनि प्रजापतिले बताए। सडक पूर्वाधार निर्माण, उद्योगधन्दा स्थापना र ट्रलीबस सञ्चालनलगायत क्षेत्रमा चीनको सहयोग नेपालको विकास यात्रामा महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।

यसैबीच, चिनियाँ प्रतिनिधिमण्डलले भक्तपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदास्थलहरूको अवलोकन गरेको छ। टोलीले भक्तपुर दरबार क्षेत्र, टौमढी र तालाक्व क्षेत्रको भ्रमण गरेको थियो।

भ्रमण टोलीमा चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चउन फान, चिनियाँ वैदेशिक जनमैत्री सङ्घका उपमहासचिव ची योङ्गच्युन, एसियाली तथा अफ्रिकी मामिला विभागका महानिर्देशक लिउ फाङ्ग, उपनिर्देशक आइ लिनलगायत सहभागी थिए।