ध्वनि प्रदूषण फैलाउने एक हजार बढी मोटरसाइकललाई कारबाही

झापा । चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गर्ने तथा स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका एक हजारभन्दा बढी मोटरसाइकलमाथि झापा प्रहरीले कारबाही गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार गत आर्थिक वर्षदेखि चालु आर्थिक वर्षको हालसम्म एक हजार ६३ वटा मोटरसाइकल तथा अन्य सवारीसाधनलाई नियन्त्रणमा लिएर कारबाही गरिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले उक्त जानकारी दिएका हुन्।

सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने साइलेन्सर जडान गर्ने र सर्वसाधारणलाई असहज हुने गरी मोटरसाइकल चलाउने प्रवृत्ति बढेपछि प्रहरीले निगरानी तथा कारबाहीलाई तीव्रता दिएको जनाएको छ। प्रहरीले अवैध रूपमा जडान गरिएका साइलेन्सर पाइपसमेत जफत गर्दै आएको छ।

प्रहरी निरीक्षक राईले सवारीसाधनको स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै सडकमा गुडाउने प्रवृत्ति नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको बताए। उनले ट्राफिक नियम उल्लङ्घन गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारे।

मेचीनगर, भद्रपुर, बिर्तामोड, दमक, बुद्धशान्ति र अर्जुनधारालगायत जिल्लाका विभिन्न स्थानमा चर्को आवाजमा मोटरसाइकल नचलाउन आग्रह गर्दै प्रहरीले सचेतनामूलक अभियानसमेत सञ्चालन गरिरहेको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा अधिकारप्राप्त अधिकारीको स्वीकृतिबिना सवारीसाधनको रङ, सिट सङ्ख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन गर्न नपाइने व्यवस्था छ। उक्त व्यवस्थाविपरीत कार्य गर्नेलाई कानुनअनुसार जरिवाना तथा कारबाही गर्न सकिने प्रहरीले जनाएको छ।