काठमाडौं । डाविड मलानले उत्कृष्ट ब्याटिङ गर्दै अविजित अर्धशतक बनाएपछि नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्ससामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको हो ।
चितवनका लागि मलानले ५१ बलमा ९ चौका र २ छक्काको मद्दतमा अविजित ७१ रन बनाए । ओपनर कमिल मिशारा दोस्रो ओभरमै ४ रन बनाएर आउट भएपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मलानले अन्तिमसम्म क्रिजमा टिकेर टोलीको इनिङ सम्हाले ।
उनले सातौँ विकेटका लागि सलाउद्दिन खानसँग ३१ बलमा ४० रनको महत्वपूर्ण साझेदारी गरे । खानले १६ बलमा एक छक्कासहित १८ रन बनाए । यस्तै कमल सिंह ऐरीले ८ बलमा एक छक्काको मद्दतमा १० रन जोडे ।
चितवनका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । देव खनाल ६, कमिल मिशारा ४, रिजन ढकाल ४, विवेक यादव ३, उसामा मिर २ तथा कप्तान रवि बोपारा र कुशल मल्ल समान १ रनमा आउट भए ।
सुदूरपश्चिमका लागि स्कट कुगुलेइनले सर्वाधिक ३ विकेट लिए । थरिन्दु रत्नायकेले २ तथा हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान १ विकेट हात पारे ।






