काठमाडौं । कुमार कुशाग्र र कप्तान तिलक वर्माले शतकीय इनिङ खेलेपछि राइजिङ स्टार्स एसिया कपमा भारत ‘ए’ले नेपाललाई ३३३ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको भारत ‘ए’ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनाएको हो ।
भारतका लागि कुशाग्रले ११७ र कप्तान तिलकले १०७ रनको उत्कृष्ट पारी खेले । त्यस्तै, सूर्यांश सेड्गेले आक्रामक ब्याटिङ गर्दै १४ बलमा अविजित ३६ रन जोडे । ओपनर वैभव सूर्यवंशीले २६ रन बनाए ।
४२ रनमै तीन विकेट गुमाएर दबाबमा परेको भारतलाई कुशाग्र र तिलकले सम्हालेका थिए । यी दुईले चौथो विकेटका लागि २०६ रनको विशाल साझेदारी गर्दै भारतको स्कोर मजबुत बनाए ।
भारतको स्कोर २४८ रन पुगेका बेला कुशाग्र ललित राजवंशीको बलमा बोल्ड भए । शतक पूरा गरेपछि असहज महसुस गरिरहेका तिलक भने नन्दन यादवको बलमा आउट भए ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र ललित राजवंशीले समान तीन विकेट लिए । नन्दन यादवले दुई तथा पवन सर्राफले एक विकेट हात पारे ।






