फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढ्यो : मन्त्री लाम्साल

काठमाडौं। सुदूरपश्चिम प्रदेशको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बोलपत्र आह्वान गर्दै ठेक्का प्रक्रिया अघि बढाइएको छ। पूर्वाधार मन्त्री सुनील लाम्सालले रंगशाला निर्माणको कामलाई प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी दिएका हुन्।

मन्त्री लाम्सालका अनुसार निर्माणको प्रारम्भिक चरणमा मैदानको हालको सतहमा माटो भर्ने, जमिन सम्याउने तथा प्यारापिटको अगाडिको भागमा ब्लक निर्माण गर्ने लगायतका काम गरिनेछ।

उनले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सुदूरपश्चिमवासीको सपना र राष्ट्रिय महत्वको आयोजनाका रूपमा उल्लेख गर्दै यसको निर्माणले खेलकुद पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

रंगशाला निर्माण सम्पन्न भएपछि क्रिकेट खेलको विकाससँगै खेल पर्यटन प्रवर्द्धन र समग्र क्षेत्रको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने लक्ष्य राखिएको मन्त्री लाम्सालको भनाइ छ।

यसैबीच, आज नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

फाइनल खेलको अवसरमा मन्त्री लाम्सालले दुवै टोलीलाई शुभकामना व्यक्त गरेका छन्। उनले विशेषगरी सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै फाइनल पुगेको रोयल्ससहित लुम्बिनी लायन्सलाई उपाधि भिडन्तका लागि शुभकामना दिएका छन्।

फाप्ला रंगशाला निर्माण प्रक्रिया अघि बढेसँगै सुदूरपश्चिममा अन्तर्राष्ट्रियस्तरको क्रिकेट पूर्वाधार विकास हुने अपेक्षा गरिएको छ।