कञ्चनपुर । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता सुरु भएको छ । विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङअन्तर्गत इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले आयोजना गरेको प्रतियोगितामा विभिन्न पाँच विश्वविद्यालयका १० टोलीबीच प्रतिस्पर्धा भइरहेको छ ।
क्लबका अध्यक्ष जेलिना भट्टका अनुसार प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी टोली सहभागी छन् ।
प्रतियोगितामा सहभागी टोलीले ४८ घण्टाको अवधिमा विभिन्न समस्याको पहिचान गरी प्रविधिको प्रयोगमार्फत समाधानको नमुना तयार पार्नुपर्नेछ । तयार पारिएका नमुना निर्णायकसमक्ष प्रस्तुत गरिने प्रतियोगिता संयोजक भुपेन्द्र जोशीले जानकारी दिए ।
‘सहभागीले समस्याको पहिचान गरी प्रविधिको प्रयोगबाट त्यसको समाधान खोज्नेछन्,’ उनले भने ।
ह्याकाथन निश्चित समयभित्र प्रोग्रामर, डिजाइनर तथा प्रविधिसम्बन्धी विज्ञहरू मिलेर सफ्टवेयर, एप वा अन्य प्रविधिको माध्यमबाट समस्या समाधान गर्ने नमुना तयार पार्ने प्रतिस्पर्धात्मक कार्यक्रम हो ।
प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, महिलाको नेतृत्वमा रहेका टोलीमध्ये उत्कृष्टलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने संयोजक जोशीले बताए ।
यसका अतिरिक्त उत्कृष्ट हार्डवेयर परियोजना निर्माण गर्ने, स्थानीय समस्या समाधानका लागि प्रभावकारी नमुना तयार पार्ने तथा उत्कृष्ट प्रस्तुति र डिजाइन गर्ने टोलीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्टले प्रतियोगिताको उद्घाटन गर्दै यसले विद्यार्थीको प्रतिभा प्रस्फुटन, प्रतिस्पर्धात्मक भावना र आपसी सद्भाव अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन २८ टोलीले नाम दर्ता गराएका थिए । तीमध्ये छनोट भएका १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगितामा स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, साइबर सुरक्षा, फिनटेक र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत आठ विधामा विद्यार्थीले नवीनतम प्रविधिमा आधारित समाधान प्रस्तुत गर्नेछन् । विभिन्न क्षेत्रका विद्यार्थीको सहभागिता रहेको प्रतियोगिताले प्रविधिमार्फत स्थानीय तथा राष्ट्रिय समस्या समाधानका लागि नवीन सोच र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।






