नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा दूषित मदिरा सेवनका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ६०० भन्दा बढी व्यक्ति बिरामी परेका छन् ।
घटनाबारे जानकारी दिँदै मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले शुक्रबार अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनका अनुसार पछिल्लो ४८ घण्टामा दूषित मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । बिरामी परेका ६०० भन्दा बढी व्यक्ति दुईवटा अस्पतालमा उपचाररत छन् ।
मुख्यमन्त्री सिंहले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न र दोषीमाथि कानुनी कारबाही अघि बढाउन निर्देशन दिएका छन् ।
भारतमा अवैध तथा मिसावटयुक्त मदिरा सेवनबाट मानिसहरूको ज्यान जाने घटना पटक–पटक दोहोरिने गरेका छन् । नियमनबाहिर बिक्री हुने सस्तो मदिरामा अत्यन्त विषाक्त औद्योगिक रसायन मिथानोल मिसाइने गरेको आशङ्का गरिन्छ ।
यसअघि गत मे महिनामा पश्चिमी राज्य महाराष्ट्रको पुणे र छिमेकी पिम्परी–चिन्चवाड क्षेत्रमा मिथानोल मिसाइएको अवैध मदिरा सेवनबाट कम्तीमा १५ जनाको मृत्यु भएको थियो । त्यसैगरी, गत अगस्टमा गुजरातको भावनगर जिल्लामा दूषित मदिरा सेवनबाट १३ जनाको मृत्यु हुनुका साथै ६० भन्दा बढी व्यक्ति प्रभावित भएका थिए ।
भारतका विभिन्न क्षेत्रमा अवैध तथा मिसावटयुक्त मदिराको बिक्री व्यापक रहेको बताइन्छ । कतिपय स्थानमा एक अमेरिकी डलरभन्दा कम मूल्यमा समेत यस्तो मदिरा पाइने गरेको छ ।
मिथानोल अत्यन्त विषाक्त रसायन हो । यसको सेवनले अन्धोपन, कलेजोमा गम्भीर क्षति तथा अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छ । बढी मात्रामा सेवन गर्दा यसले मानिसको ज्यानसमेत लिन सक्छ ।






