उपल्लो मुस्ताङका ३६५ विद्यार्थी जाडो छल्न बेसी झारिए

मुस्ताङ – हिमपात र अत्यधिक चिसोका कारण पठनपाठन प्रभावित हुने भएपछि उपल्लो मुस्ताङका दुई गाउँपालिकाका विद्यालयले विद्यार्थीलाई बेसी झारेर घुम्ती कक्षा सञ्चालन गरेका छन् ।

लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका सामुदायिक, संस्थागत तथा गुम्बा विद्यालयले स्थानीय तहको समन्वयमा मङ्सिर १ गतेदेखि बेसीका विभिन्न स्थानमा अस्थायी रूपमा कक्षा सञ्चालन गर्न थालेका हुन् ।

उपल्लो मुस्ताङमा हरेक वर्ष हिउँदयाममा अत्यधिक चिसो र हिमपात हुने भएकाले विद्यार्थीको स्वास्थ्य र नियमित पठनपाठनलाई ध्यानमा राख्दै विद्यालयलाई बेसी सार्ने गरिएको छ । गर्मीयाम सुरु भएपछि विद्यालय पुनः आफ्नै स्थानमा फर्कनेछन् ।

लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम गिरीका अनुसार चिसो र हिमपातका कारण विद्यार्थीको स्वास्थ्यमा जोखिम हुनुका साथै पठनपाठन प्रभावित हुने भएकाले घुम्ती कक्षाको व्यवस्था गरिएको हो ।

गाउँपालिकाका लेखा अधिकृत उज्ज्वल चापागाईँका अनुसार लोमान्थाङका तीन सामुदायिक र चार संस्थागत विद्यालय बेसी झरेका छन् । दिव्यदीप माध्यमिक विद्यालय, छोनुप झिन्जु आधारभूत विद्यालय र राष्ट्रिय आधारभूत विद्यालयले घुम्ती कक्षा सञ्चालन गरेका छन् ।

त्यसैगरी मञ्जुश्री, निफुक नाम्डोल, पाल एण्ड नाम्ग्याल र महाकरुणा धार्मिक गुम्बा विद्यालय पनि बेसी झरेका छन् ।

घुम्ती कक्षाअन्तर्गत दिव्यदीप माध्यमिक विद्यालयले पोखराको विजयपुर, छोनुप झिन्जु आधारभूत विद्यालयले हेमजा र राष्ट्रिय आधारभूत विद्यालयले तालबेसी किमबेसीमा पठनपाठन गरिरहेका छन् । दिव्यदीप र छोनुप झिन्जु विद्यालयले आफ्नै भवनमा कक्षा सञ्चालन गरेका छन् भने राष्ट्रिय आधारभूत विद्यालयले भाडाको भवन प्रयोग गरेको छ ।

लोमान्थाङका सामुदायिक विद्यालयलाई घुम्ती कक्षा सञ्चालनका लागि सङ्घीय सरकारबाट प्रतिविद्यालय तीन लाख ५० हजार रुपैयाँका दरले सशर्त अनुदान उपलब्ध गराइएको छ ।

यसैगरी, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका तीन सामुदायिक र दुई धार्मिक गुम्बा विद्यालय पनि घुम्ती कक्षा सञ्चालन गर्न बेसी झरेका छन् ।

गाउँपालिकाका शिक्षा अधिकृत भीम नेपालीका अनुसार चराङ आधारभूत, घमी आधारभूत र जनज्योति माध्यमिक विद्यालयका १८८ विद्यार्थीलाई बेसी सारिएको छ । चराङ छोदे गुम्बा र आनी गुम्बा विद्यालयले पनि घुम्ती कक्षा सञ्चालन गरेका छन् ।

घुम्ती कक्षाअन्तर्गत चराङ आधारभूत विद्यालयले पोखराको हेमजा, घमी आधारभूत विद्यालयले विजयपुर र जनज्योति माध्यमिक विद्यालयले तनहुँको दुलेगौडामा भाडाका भवनबाट पठनपाठन गरिरहेका छन् । यसका लागि गाउँपालिकाले सामुदायिक विद्यालयलाई २६ लाख रुपैयाँ बजेट विनियोजन गरेको शिक्षा अधिकृत नेपालीले जानकारी दिए ।

दुवै गाउँपालिकाबाट सामुदायिक विद्यालयका कुल ३६५ विद्यार्थी जाडो छल्न बेसी झरेका छन् । तीमध्ये लोमान्थाङका १७७ र लोघेकर दामोदरकुण्डका १८८ विद्यार्थी रहेका छन् ।

घुम्ती कक्षा सञ्चालनले विद्यार्थीको पढाइलाई निरन्तरता दिनुका साथै अभिभावकलाई समेत सहज भएको छ । विद्यालयमै विद्यार्थीको रेखदेख र पठनपाठन हुने भएपछि अभिभावकलाई बेसीमा आएर व्यापार व्यवसाय गर्न तथा अन्य काममा संलग्न हुन सजिलो भएको छ ।

हिउँदयाम सुरु भएसँगै उपल्लो मुस्ताङका अधिकांश बासिन्दा पनि जाडो छल्न बेसी झर्ने गर्छन् । उनीहरू विद्यार्थीहरूसँगै बसाइँ सरेर गर्मीयाम सुरु भएपछि वैशाखमा पुनः आफ्नै गाउँ फर्कने गरेका छन् ।