काठमाडौं । दिलिप नाथ र अली शेखको आक्रामक ब्याटिङमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्ससामु १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको हो ।
लुम्बिनीका लागि दिलिप नाथले अविजित ३९ रन बनाए । उनले ३१ बलमा ३ छक्का प्रहार गरे । त्यस्तै कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८, अली शेखले २४ तथा डार्सी सर्टले २१ रनको योगदान दिए ।
लुम्बिनीको सुरुवात भने राम्रो हुन सकेन । ओपनर आसिफ शेख व्यक्तिगत एक रनमै आउट भए । तेस्रो ओभरमा स्कट कुगेलेइनको बलमा एलबीडब्लू धरापमा परेका आसिफले रिभ्यु लिए पनि डीआरएसमा बलले स्टम्पमा लागेको देखिएपछि उनको विकेट गएको थियो ।
छैटौँ ओभरमा बलिङमा आएका सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तेस्रो बलमै डार्सी सर्टलाई बोल्ड गरे । सर्टले १८ बलमा चार चौकासहित २१ रन बनाए ।
३५ रनमा दुई विकेट गुमाएको अवस्थामा कप्तान रोहित पौडेल र निरोशन डिकवेलाले इनिङ्स सम्हाले । उनीहरूले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गरे । डिकवेला ११औँ ओभरमा थरिन्दु रत्नायकेको बलमा बोल्ड भए । उनले १७ बलमा एक चौका र दुई छक्कासहित २८ रन बनाए ।
त्यसपछि रोहितले दिलिप नाथसँग चौथो विकेटका लागि ३४ रनको साझेदारी गरे । रोहित १५औँ ओभरको अन्तिम बलमा रनआउट भए । उनले ३१ बलमा चार चौकासहित ३० रन बनाए । त्यसलगत्तै ब्याटिङमा आएका सन्दीप जोराले चार रन मात्रै जोड्न सके ।
त्यसपछि दिलिप नाथ र अली शेखले छैटौँ विकेटका लागि ३३ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्याए । अन्तिम ओभरसम्म क्रिजमा रहेका दिलिपले अविजित ३९ रन बनाए भने रुबेन ट्रम्पलम्यान चार रनमा नटआउट रहे ।
अली शेखले १२ बलमा दुई चौका र दुई छक्कासहित २४ रनको योगदान दिए ।
सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले दुई विकेट लिए भने थरिन्दु रत्नायके, दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले समान एक–एक विकेट हात पारे ।
अब उपाधि जित्न सुदूरपश्चिम रोयल्सले २० ओभरमा १५६ रन बनाउनुपर्नेछ ।






