चितवन । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेल सम्पन्न भएसँगै प्रधानमन्त्री वालेन्द्र शाहले आगामी संस्करणमा ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणा गरेपछि मोफसलका क्रिकेट क्लबका सञ्चालक उत्साहित भएका छन् ।
प्रधानमन्त्री शाहले एनपीएलका आठवटै टोलीका लागि फ्लडलाइटसहितका छुट्टाछुट्टै क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा गरेका छन् । नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयमार्फत रङ्गशाला निर्माण गरिने उनको भनाइ छ । प्रधानमन्त्रीले एनपीएलको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने योजनासमेत सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्रीको घोषणालाई स्वागत गर्दै कर्णाली एक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले आफ्नै घरेलु मैदानमा आफ्नै माटो र समर्थकको साथमा खेल्ने कर्णालीवासीको वर्षौँदेखिको सपना साकार हुने दिशामा अघि बढेको बताए ।
उनले राज्यको यो पहलले कर्णालीको खेलकुद विकास, पूर्वाधार निर्माण, स्थानीय प्रतिभाको पहिचान तथा खेल पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
कर्णालीमा अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गरी नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने अभियानमा नेपाल सरकार, प्रदेश सरकार, नेपाल क्रिकेट सङ्घ (क्यान) र अन्य सरोकारवाला निकायसँग सहकार्य गर्न क्लब प्रतिबद्ध रहेको पनि उनले बताए ।
त्यस्तै, चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले एनपीएलको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणाली लागू गर्ने तथा प्रत्येक टोलीका लागि घरेलु मैदान निर्माण गर्ने प्रधानमन्त्रीको घोषणाको स्वागत गरेका छन् ।
उनले आफ्नै सहर र मैदानमा खेल्न पाउनु खेलमा मात्र सीमित नभई स्थानीय समर्थकलाई आफ्नो टोलीसँग जोड्ने, स्थानीय अर्थतन्त्र चलायमान बनाउने र आधुनिक खेल पूर्वाधार विकास गर्ने अवसरसमेत भएको बताए ।
यस पहलले स्थानीय युवा खेलाडीलाई प्रेरणा दिनुका साथै प्रशिक्षणको वातावरण सहज बनाउने र प्रदेशभर क्रिकेटप्रतिको आकर्षण बढाउने उनको विश्वास छ । न्यौपानेले यस राष्ट्रिय अभियानलाई सफल बनाउन नेपाल सरकार, प्रदेश सरकार, भरतपुर महानगरपालिका, क्यानलगायत सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताए ।
उनका अनुसार भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको अन्तरराष्ट्रियस्तरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको निर्माण अन्तिम चरणमा पुगेको छ । रङ्गशालामा छिट्टै फ्लडलाइट जडान हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।
प्रधानमन्त्री शाहले आठवटै टोलीका लागि छुट्टाछुट्टै घरेलु मैदानसमेत प्रस्ताव गरेका छन् । जसअनुसार चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रङ्गशाला, कर्णाली एक्सका लागि सुर्खेत क्रिकेट रङ्गशाला, विराटनगर किङ्सका लागि वैजनाथपुर क्रिकेट रङ्गशाला र लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रङ्गशाला उपलब्ध गराइनेछ ।
त्यसैगरी सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रङ्गशाला, काठमाडौँ गुर्खाजका लागि कीर्तिपुर क्रिकेट रङ्गशाला, पोखरा एभेन्चर्सका लागि पोखरा क्रिकेट रङ्गशाला र जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रङ्गशाला प्रस्ताव गरिएको छ ।
‘होम एन्ड अवे’ प्रणाली कार्यान्वयनमा आएपछि एनपीएलका खेल देशका विभिन्न सहरमा सञ्चालन हुनेछन् । यसबाट क्रिकेटको पहुँच विस्तार हुनुका साथै स्थानीय खेलाडी, समर्थक, पर्यटन र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।





