दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

कार्कीको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासको ‘ख’ नम्बर पेशीमा परेको छ ।

सरकारले आफूलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेपछि कार्कीले उक्त निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय लिन दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो ।

रिटलाई विशेष अग्राधिकार दिँदै मंसिर ७ गतेका लागि पेशी तोकिएको थियो । सोहीअनुसार आज दुवै पक्षबीच छलफलसहित सुनुवाइ हुन लागेको हो ।

गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेको थियो । उनको स्थानमा डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो ।

सरकारको उक्त निर्णयलाई चुनौती दिँदै कार्की न्यायिक उपचारका लागि सर्वोच्च अदालत पुगेका हुन् ।