रेलमार्गले जोडिँदै राम–सीताको पवित्र सम्बन्धका दुई धाम

जनकपुरधाम । रामायणसँग जोडिएका नेपाल र भारतका दुई महत्वपूर्ण धार्मिक नगरी जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालन हुने भएपछि धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनको नयाँ सम्भावना खुलेको छ। राम–सीताको पवित्र सम्बन्धसँग जोडिएका यी दुई सहर रेलमार्गबाट जोडिन लागेपछि नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक र जनस्तरको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा आज नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।

भारतीय प्रेस इन्फर्मेसन ब्यूरो (पिआइबी) का अनुसार भारतीय रेल्वेले जनकपुरधामदेखि भारतको उत्तर प्रदेशस्थित अयोध्यासम्म नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको हो। करिब ६०४ किलोमिटर दूरीको उक्त रेल सेवा बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर हुँदै सञ्चालन हुनेछ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार प्रारम्भिक चरणमा रेल सेवा सातामा एकपटक सञ्चालन हुनेछ।

निर्धारित समयतालिकाअनुसार रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ। त्यसैगरी, रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट प्रस्थान गरी मङ्गलबार दिउँसो १२:४० बजे जनकपुरधाम आइपुग्नेछ।

रेलले जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी गर्नेछ। ती स्टेसनबाट यात्रुले चढ्न र ओर्लन सक्ने व्यवस्था गरिएको छ।

उत्तर रेल्वेको लखनउस्थित मण्डल रेल प्रबन्धक कार्यालयले जारी गरेको निमन्त्रणाअनुसार अयोध्या रेल्वे स्टेसनमा विशेष कार्यक्रम आयोजना गरी आज दिउँसो नयाँ वन्दे भारत एक्सप्रेस रेललाई हरियो झन्डा देखाएर सेवा उद्घाटन गर्ने कार्यक्रम छ।

जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको जन्मभूमिका रूपमा धार्मिक आस्थासँग जोडेर हेरिन्छ। यी दुई सहरबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित हुँदा दुवै देशका श्रद्धालु तथा पर्यटकको आवागमन सहज हुनुका साथै रामायण सर्किटको अवधारणालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका नेता तथा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहले जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न रेल सेवा महत्वपूर्ण उपलब्धि हुने बताए।

उनका अनुसार रेल सेवा सञ्चालनले धार्मिक पर्यटन प्रवर्द्धनसँगै नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध विस्तार गर्नेछ। यसबाट मधेस प्रदेशको कृषि, उद्योग, व्यापार तथा पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

भारतका विभिन्न स्थानबाट अयोध्या आउने तीर्थयात्रीलाई जनकपुरधामसम्म पुग्न तथा नेपालबाट अयोध्या जाने श्रद्धालुलाई सहज आवागमन गर्न रेल सेवाले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले जनकपुरधाम–अयोध्या रेल सेवाले दुवै देशका धार्मिक पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढाउने विश्वास व्यक्त गरे।

जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिर, धनुषाधाम, विवाहमण्डप तथा मिथिलाको मौलिक कला, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्न रेल सेवा उपयोगी हुने उनले बताए।

पर्यटकको आगमन बढेसँगै होटल, यातायात, पर्यटक पथप्रदर्शक तथा हस्तकला व्यवसायमा आबद्ध व्यक्तिले प्रत्यक्ष लाभ लिन सक्ने उनको भनाइ छ। त्यसका लागि पर्यटकमैत्री पूर्वाधार, सरसफाइ, आवास, सुरक्षा, सूचना तथा यातायात व्यवस्थापनमा सुधार गर्नुपर्नेमा उनले जोड दिए।

जनता समाजवादी पार्टी (जसपा) धनुषाका अध्यक्ष पशुपति यादवले लामो समयदेखि चर्चामा रहेको जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको चरणमा पुग्नु सकारात्मक भएको बताए।

रेल सेवालाई नियमित र प्रभावकारी बनाउन दुवै देशका सरकारबीच नीतिगत निर्णय, प्रशासनिक समन्वय र आवश्यक पूर्वाधार व्यवस्थापन हुनुपर्नेमा उनले जोड दिए। यसलाई धार्मिक पर्यटन, राष्ट्रिय हित र आर्थिक विकाससँग जोडिएको साझा परियोजनाका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धनुषाका संयोजक दीपक यादवले रामायणसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक स्थललाई एकीकृत पर्यटन मार्गका रूपमा विकास गर्ने योजनामा जनकपुरधाम र अयोध्यालाई रेलमार्गबाट जोड्ने पहल महत्वपूर्ण रहेको बताए।

सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्याबीच प्रत्यक्ष सम्पर्क स्थापित हुँदा धार्मिक पर्यटनका नयाँ अवसर सिर्जना हुने उनले उल्लेख गरे।

हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। यही रेल सञ्जाललाई आधार बनाएर जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालन गर्न लागिएको हो।

नयाँ रेल सेवाबाट मधेस प्रदेशमा धार्मिक पर्यटकको आगमन वृद्धि, स्थानीय रोजगारी सिर्जना, व्यापारिक गतिविधि विस्तार तथा पर्यटन व्यवसायको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। साथै, नेपाल र भारतबीचको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

— रासस