काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५६६ जना सवारीचालक कारबाहीमा परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार नियमित निगरानी तथा चेकजाँचका क्रममा नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६७ जना, सिसिटिभी फुटेजका आधारमा पहिचान भएका ३७ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने २९ जना र तीव्र गतिमा सवारी चलाउने १२२ जना रहेका छन् ।
त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १० जना, सवारीको अवस्था ठीक नभएका १८ जना र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने चार जना कारबाहीमा परेका छन् । अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने २७९ जनालाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ ।
प्रवक्ता सुवेदीका अनुसार कारबाहीमा परेका सबैलाई प्रचलित नियमअनुसार जरिवानासहितको कारबाही गरिएको हो ।
उपत्यकामा सडक अनुशासन कायम राख्न ट्राफिक प्रहरीले नियमित चेकजाँच र निगरानीलाई तीव्रता दिँदै आएको छ । प्रहरीले सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।
ट्राफिक नियमको पालना चालकको जिम्मेवारी मात्र नभई पैदलयात्रीसहित सडक प्रयोग गर्ने सबैको सुरक्षासँग जोडिएको विषय भएकाले नियम उल्लङ्घन नगर्न प्रहरीले सबैलाई अनुरोध गरेको छ ।





