काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आजका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ ।
मुद्दामा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीलाई म्याद तामेल हुन बाँकी रहेकाले सुनुवाइ स्थगित भएको हो ।
यसअघि सर्वोच्च अदालतबाटै आईजीपी केसीलाई म्याद बुझाउन प्रहरी प्रधान कार्यालयमा पत्र पठाइएको थियो । तर, पत्रमा उनको पद प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उल्लेख भएको भन्दै प्रहरी प्रधान कार्यालयले म्याद बुझ्न अस्वीकार गरेको थियो ।
त्यसपछि कार्कीले सर्वोच्च अदालतमा अर्को निवेदन दिएका थिए । सोही निवेदनका आधारमा केसीलाई प्रहरी महानिरीक्षक उल्लेख गर्दै यसअघिको निवेदन तथा आदेशमा आवश्यक संशोधन गरिएको थियो ।
संशोधनपछि म्याद तामेल गर्ने प्रक्रिया बाँकी रहेकाले आजको सुनुवाइ रोकिएको हो । सर्वोच्च अदालतले रिटमाथि अर्को सुनुवाइको मिति भने तय गरेको छैन ।





