प्रतिनिधिसभाका विभिन्न संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं: प्रतिनिधिसभा अन्तर्गतका विभिन्न संसदीय समितिहरूको बैठक आज बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार आज पाँचवटा समितिले आ-आफ्ना कार्यसूचीमा रहेका विधेयक र समसामयिक विषयमा छलफल गर्नेछन्।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ। सो बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक, २०८३’ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ। सोही समयमा बस्ने उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ। उक्त बैठकमा ‘चलचित्र विधेयक, २०८१’ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरिनेछ।

बिहानको समयमा अन्य दुई समितिले पनि बैठक राखेका छन्। महिला तथा सामाजिक समितिको बैठक बिहान ९ बजे बस्नेछ, जसमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल हुनेछ। सार्वजनिक लेखा समितिको बैठक बिहान ९:३० बजे बस्नेछ। सो समितिमा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना र नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तारसम्बन्धी उजुरीबारे छलफल हुनेछ।