काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से १५.३९ अंकले बढेको छ । यससँगै नेप्से परिसूचक २ हजार ६३८ अंकमा पुगेको छ । अघिल्लो कारोबार दिन सोमबार नेप्से २.२६ अंकले बढेको थियो ।
मंगलबार बजार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । सोमबार ३ अर्ब ८२ करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार बढेर ५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
आज कारोबारमा आएका कम्पनीमध्ये १६५ वटाको सेयर मूल्य बढेको छ भने १११ वटाको घटेको छ । त्यस्तै, तीन कम्पनीको मूल्य स्थिर रहेको छ ।
मंगलबार बैंकिङ समूहले बजार वृद्धिमा सबैभन्दा महत्त्वपूर्ण योगदान पुर्याएको छ । कुल बजार पुँजीकरणमा ठूलो हिस्सा रहेको बैंकिङ समूह १.२४ प्रतिशतले बढेको हो । लगानीकर्ताको आकर्षण बैंकिङ क्षेत्रमा बढ्दा समग्र नेप्से परिसूचकमा सकारात्मक प्रभाव परेको देखिएको छ ।
यस दिन विकास बैंक समूह १.०४, फाइनान्स ०.०३, होटल तथा पर्यटन ०.९४, जलविद्युत् ०.४६, लगानी ०.३०, जीवन बीमा ०.१४, उत्पादन तथा प्रशोधन ०.६१, निर्जीवन बीमा ०.२६ र व्यापार समूह ०.९७ प्रतिशतले बढेका छन् ।
यता, माइक्रोफाइनान्स समूह ०.१८ र अन्य समूह ०.३९ प्रतिशतले घटेका छन् ।
मंगलबार एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ५.०५ प्रतिशतले बढेको छ । त्यस्तै, माउन्टेन हाइड्रो नेपाल ३.४२, सिटी होटल ३.०९, जनउत्थान सामुदायिक लघुवित्त ३.०१, हिमालयन डिस्टिलरी २.७९ र श्वेतगंगा हाइड्रोको मूल्य २.७८ प्रतिशतले बढेको छ ।
यसैगरी, मानुषी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ । मेन्छियाम हाइड्रोपावरको ७.२७, ओम मेगाश्री फर्मास्युटिकल्सको ३.६७, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३.५१ र मुक्तिनाथ कृषि कम्पनीको ३.१७ प्रतिशतले मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा सोल्टी होटल अग्रस्थानमा रहेको छ । त्यसपछि ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन डिस्टिलरी, रिलायन्स स्पिनिङ मिल्स, पिपुल्स हाइड्रोपावर, एनआईसी एसिया बैंक, कुमारी बैंक र एनएमबी बैंक क्रमशः अगाडि रहेका छन् ।





