काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो

बनेपा (काभ्रे) । काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्षको साउन १ गतेदेखि मङ्सिर ७ गतेसम्म ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागीश्री कक्षपतिका अनुसार सङ्क्रमितमध्ये ३० पुरुष र २४ महिला रहेका छन् । जिल्लाका चार स्थानीय तहमा डेङ्गी सङ्क्रमण फैलिएको छ ।

कार्यालयका अनुसार सबैभन्दा बढी पाँचखाल नगरपालिकामा २४ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै बनेपा नगरपालिकामा १९, मण्डनदेउपुर नगरपालिकामा नौ र नमोबुद्ध नगरपालिकामा दुई जनामा डेङ्गी देखिएको छ ।

पछिल्लो २४ घण्टामा भने जिल्लामा डेङ्गीका नयाँ सङ्क्रमित थपिएका छैनन् । कक्षपतिका अनुसार जिल्लाका अन्य स्थानीय तहमा हालसम्म डेङ्गी सङ्क्रमण पुष्टि भएको छैन ।