नेपाल प्रहरीका ६० एसपीको सरुवा, १७ जिल्लामा नयाँ इन्चार्ज

काठमाडौं: नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले मंगलबार सो निर्णय गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार यस पटकको सरुवामा १७ वटा जिल्लाका इन्चार्जहरु फेरिएका छन् । सरुवा सूचीअनुसार बारामा कुमार विक्रम थापा, मोरङमा दिलीप कुमार गिरी र उदयपुरमा धर्मराज भण्डारीलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, तनहुँमा नरेश राज सुवेदी, बाँकेमा नवराज मल्ल, सिन्धुपाल्चोकमा निरन्जन दत्त भट्ट र पूर्वी नवलपरासीमा निर्मल बुढाथोकीलाई पठाइएको छ ।

पर्सामा पवन कुमार भट्टराई र सुनसरीमा पुष्पराज मल्लको दरबन्दी कायम गरिएको छ । बर्दियामा बाल नरसिंह राणा, धादिङमा भरत लामा, कास्कीमा मोहन बहादुर खाण र कैलालीमा यादव ढकालको सरुवा भएको छ । साथै, पाल्पामा रबिन श्रेष्ठ, भक्तपुरमा रुकेश तण्डुकार, सप्तरीमा रूपक खड्का र दाङमा श्यामु अर्याललाई खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।