झापा । पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक महिनामा राजस्व सङ्कलन लक्ष्यभन्दा बढी गरेको छ । कार्यालयले निर्धारित लक्ष्यभन्दा १० प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो ।
कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार कात्तिकमा एक अर्ब ३५ करोड १३ लाख ९६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त महिनाका लागि एक अर्ब २३ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा लक्ष्यको ११० प्रतिशत उपलब्धि हासिल भएको हो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भने कार्यालयले राजस्व सङ्कलनको लक्ष्य भेट्टाउन सकेको थिएन । साउनमा एक अर्ब ४३ करोड ५० लाख रुपैयाँ लक्ष्य रहेकामा एक अर्ब २७ करोड ९८ लाख ३७ हजार रुपैयाँ मात्रै सङ्कलन भएको थियो ।
त्यसैगरी, भदौमा एक अर्ब ६४ करोड रुपैयाँ लक्ष्य निर्धारण गरिएकामा एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार रुपैयाँ र असोजमा एक अर्ब ८४ करोड ५० लाख रुपैयाँ लक्ष्य रहेकामा एक अर्ब ८३ करोड ७३ लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
भारतको पश्चिम बङ्गालस्थित पानीट्याङ्कीसँग सीमा जोडिएको काँकडभिट्टा नाकाबाट मुख्य रूपमा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, मट्टितेल, तयारी पोसाक, सुपारी, सिमेन्टको क्लिङ्कर, सुती कपडा, चामल, कनिका, ग्लेज टायल, स्नेहक तेल, मोबिल, मोटरका ब्याट्री तथा प्लास्टिकका ट्युब आयात हुने गरेका छन् ।
यस नाकामार्फत भारत, चीन, बङ्गलादेश र भुटानलगायत मुलुकसँग व्यापार हुने गरेको छ । यहाँबाट चिया, अलैँची, अदुवा, अम्लिसो, मुसुरो दाल, भेनियर सिट, चोकर, आलस, खयरको कत्था, जडीबुटी, फलामे संरचना, सुठो तथा प्लाइउड निर्यात हुँदै आएको छ ।





