काठमाडौँ । महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस आज (नोभेम्बर २५) विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ । महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
महिला तथा बालिकामाथि हुने हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घले यसको अन्त्यका लागि कानुनी व्यवस्था, न्यायमा पहुँच र जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको छ ।
यसैबीच, विश्वभर प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या हुने गरेको तथ्य सार्वजनिक भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय लागूऔषध तथा अपराध कार्यालय र संयुक्त राष्ट्रसङ्घीय महिला निकायले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको थियो । यो सङ्ख्या दैनिक औसत १३७ जना हो ।
प्रतिवेदनले महिला तथा बालिकामाथि हुने हिंसाको सबैभन्दा चरम रूप हत्या भएको उल्लेख गरेको छ । उनीहरूमाथि हुने हिंसा लामो समयदेखिको दुर्व्यवहार, धम्की, नियन्त्रण र असमान शक्ति सम्बन्धसँग जोडिने गरेको पनि प्रतिवेदनमा औँल्याइएको छ ।
महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायले लामो समयदेखि विभिन्न कानुनी तथा नीतिगत प्रयास गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९७९ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि पारित गरेको थियो । त्यसैगरी, सन् १९९३ मा महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र जारी गरिएको थियो ।
महिला अधिकारकर्मीहरूले सन् १९८१ देखि नोभेम्बर २५ लाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउन थालेका हुन् । सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका तत्कालीन शासक राफेल त्रुजिलोको आदेशमा राजनीतिक गतिविधिमा संलग्न मिराबल दिदीबहिनीको हत्या गरिएको घटनाको स्मरणमा यो दिन छनोट गरिएको हो ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९९ डिसेम्बर १७ मा प्रस्ताव पारित गर्दै नोभेम्बर २५ लाई महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा औपचारिक मान्यता दिएको थियो । त्यसयता विश्वभरका सदस्य राष्ट्र, अन्तर्राष्ट्रिय संस्था तथा गैरसरकारी संस्थालाई यस अवसरमा चेतनामूलक कार्यक्रम आयोजना गर्न आह्वान गरिँदै आएको छ ।
नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् मानव अधिकार दिवससम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानसमेत सञ्चालन गरिन्छ । यस अभियानले महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार, नागरिक समाज र समुदायको सामूहिक प्रयास आवश्यक रहेको सन्देश प्रवाह गर्दै आएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महिला तथा बालिकामाथिको हिंसा सबै देश र समुदायलाई प्रभावित पार्ने विश्वव्यापी लज्जाको विषय भएको बताएका छन् । उनले हिंसा अन्त्यका लागि न्याय सुनिश्चित गर्न र रोकथामका प्रयासलाई थप प्रभावकारी बनाउन आह्वान गरेका छन् ।
दिवसका अवसरमा जारी सन्देशमा गुटेरेसले हिंसापीडितलाई कानुनी सहायता, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श र सुरक्षित आश्रय उपलब्ध गराउन तथा हिंसासम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारहरूलाई आग्रह गरेका छन् ।
त्यसैगरी, संयुक्त राष्ट्रसङ्घकी उपमहासचिव अमिना मोहम्मदले हिंसापीडित महिलालाई संरक्षण र न्याय उपलब्ध गराउनुका साथै दोषीलाई जवाफदेही बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएकी छन् ।





