काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा अन्त्यका लागि सबै पक्ष एकजुट भएर आवाज उठाउनुपर्ने बताएकी छन्।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आज सन्देश जारी गर्दै मन्त्री बादीले हिंसा, विभेद र अपमान कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने उल्लेख गरेकी छन्।
उनले महिलाको सम्मान, सुरक्षा र समान सहभागिता सुनिश्चित नभएसम्म लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा हुन नसक्ने बताएकी छन्।
नेपालको संविधानले समानता, सम्मानपूर्वक बाँच्न पाउने अधिकार र महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उनले संविधानप्रदत्त अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड दिएकी छन्।
मन्त्री बादीले विद्युतीय माध्यमबाट हुने हिंसा, बालबालिकामाथिको हिंसा तथा सीमान्तकृत समुदायमाथि हुने विभेद र हिंसासहित सबै प्रकारका लैङ्गिक हिंसा अन्त्य गर्न राज्यका निकाय, कानुन कार्यान्वयन गर्ने अधिकारी तथा आम नागरिकलाई एकजुट भएर आवाज उठाउन आग्रह गरेकी छन्।





