कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै गएको छ । फ्लाइ दुबईले सञ्चालन गरेको दुबई–पोखरा–दुबई उडानमार्फत दुई महिनाको अवधिमा १३ हजार ४७४ यात्रुले सेवा लिएका छन् ।
गत असोज ७ देखि मङ्सिर ७ गतेसम्म फ्लाइ दुबईले दुईतर्फी १२२ उडान सञ्चालन गरेको थियो । उक्त अवधिमा दुबईबाट पोखरा आठ हजार ११५ यात्रु आएका छन् भने पोखराबाट पाँच हजार ३५९ यात्रु दुबई गएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार फ्लाइ दुबई र यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधाले पोखरा–दुबई उडानप्रति आकर्षण बढाएको हो ।
उनले पोखरामै भारतीय नागरिकलाई अनापत्ति प्रमाणपत्र (एनओसी) उपलब्ध गराउने व्यवस्था भए यस हवाई मार्गमा यात्रुको सङ्ख्या अझ बढ्न सक्ने बताए ।
हाल नेपालमा रहेका भारतीय नागरिकले भारतबाहेक अन्य मुलुकमा हवाई यात्रा गर्नुपर्दा काठमाडौँस्थित भारतीय दूतावासबाट अनापत्ति प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ । उक्त सुविधा पोखरामै उपलब्ध गराउन दूतावाससँग पहल भइरहेको श्रेष्ठले जानकारी दिए ।
विसं २०७९ पुस १७ गते उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । फ्लाइ दुबईले पहिलोपटक यस विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको हो ।
(रासस)






