काठमाडौँ– वैदेशिक रोजगार ठगीमा संलग्न भएको आरोप लागेका ४७ जना व्यक्ति वैदेशिक रोजगार विभागको सम्पर्कमा आएका छन्। ठगीमा प्रयोग भएका बैंक खाता रोक्का गर्ने तयारी गरेपछि उनीहरू विभागको सम्पर्कमा आएका हुन्।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागका अनुसार सम्पर्कमा आएका ४७ जनाले पीडित श्रमिकसँग मिलापत्रसमेत गरिसकेका छन्।
विभागले पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र उपस्थित हुन गत कात्तिक १९ गते पत्राचार गरेको थियो। पत्रमा तोकिएको समयभित्र सम्पर्कमा नआए ठगीमा प्रयोग भएका बैंक खाता रोक्का गरिने चेतावनी दिइएको थियो।
तोकिएको अवधिमा उपस्थित नभएका व्यक्तिहरूको बैंक खाता रोक्का गर्न ३५ दिनको समयसीमा पूरा भएपछि नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्ने प्रक्रिया अघि बढाउन विभागले निर्देशन दिएको छ।
विभागका अनुसार वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा हालसम्म १ हजार २१८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ।





