आजदेखि काठमाडौँका विभिन्न क्षेत्रमा चार दिन विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण बानेश्वर वितरण केन्द्रले विद्युत् वितरण प्रणाली सुदृढीकरण तथा मर्मतसम्भारका लागि काठमाडौँका विभिन्न क्षेत्रमा चार दिन विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

वितरण केन्द्रका अनुसार भूमिगत विद्युत् लाइनको काम सम्पन्न भएका क्षेत्रमा स्ट्रक्चर फिटिङ, एचटी/एलटी केबल राइजिङ, केबल कनेक्सन तथा बसबार एरेन्जमेन्टलगायतका काम गर्न विद्युत् कटौती गर्न लागिएको हो।

प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार मंसिर १२ देखि १५ गतेसम्म दैनिक बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।

मंसिर १२ गते शनिबार आलोकनगर मार्ग, आलोक मध्य मार्ग, आलोक तारा मार्ग, सावित्री मार्ग तथा नापी विभाग क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहनेछ।

त्यस्तै, मंसिर १३ गते आइतबार शंखमूल मार्ग, मंसिर १४ गते सोमबार बुद्धनगर तथा बिजुली बजार क्षेत्रमा विद्युत् कटौती हुनेछ।

यसैगरी, मंसिर १५ गते मंगलबार ३१ नम्बर वडा कार्यालय तथा तीनकुने तरकारी बजार क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ।

निर्धारित समयभन्दा अगावै मर्मतसम्भारको काम सम्पन्न भएमा सोहीअनुसार विद्युत् आपूर्ति पुनः सञ्चालन गरिने प्राधिकरणले स्पष्ट पारेको छ।