गृह मन्त्रालयद्वारा ९ सहसचिवको सरुवा, ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

काठमाडौँ । गृह मन्त्रालयले सहसचिव तहका ९ जना कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ। मन्त्रालयले मङ्सिर ११ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो।

मन्त्रालयको निर्णयअनुसार आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) परिवर्तन भएका छन्।

जसअनुसार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ। उनको स्थानमा गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीलाई पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

त्यस्तै, अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ।

यसैगरी, गृह मन्त्रालय वा मातहतका निकायमा कार्यरत पाँच जना सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरिएको छ।

मन्त्रालयका अनुसार गीता कुमारी होमेगाईलाई रामेछाप, वीरेन्द्रकुमार मिश्रलाई दैलेख, विमलप्रसाद बराललाई महोत्तरी, शिवप्रसाद रेग्मीलाई प्युठान र दीपक लामिछानेलाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ।