काठमाडौँ । इजरायलमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच सहमति जुट्न नसकिरहेका बेला प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विपक्षी नेता गादी आइसेनकोटलाई आलोपालो प्रधानमन्त्री बन्ने प्रस्ताव गर्ने तयारी गरेका छन् । इजरायली सञ्चारमाध्यमका अनुसार सत्ता साझेदारीको प्रस्तावबारे नेतान्याहुको कार्यालयभित्रै मतभेद देखिएको छ ।
च्यानल १३ का अनुसार नेतान्याहुले आइसेनकोटसँग सत्ता साझेदारी गर्न इच्छुक रहेको सार्वजनिक गर्ने तयारी गरेका छन् । इजरायली सार्वजनिक प्रसारक कानले भने उक्त प्रस्ताव अनौपचारिक माध्यमबाट अघि बढाइने सम्भावना रहेको जनाएको छ ।
तर, आइसेनकोट नेतान्याहुको प्रस्तावप्रति विश्वस्त देखिएका छैनन् । उनले आगामी साता नयाँ सरकार गठन गरी शपथ लिने तयारीसमेत गरिरहेका छन् । गठबन्धनका साझेदार डेमोक्रेट्स पार्टीका अध्यक्ष यायर गोलान र इजरायल बेटेनुका अध्यक्ष अभिग्डोर लिबरम्यानलाई उनीहरूको सहमतिबिना लिकुडसँग एकता सरकार गठन नगर्ने आश्वासन दिएको बताइएको छ । यी दुवै नेताले नेतान्याहु नेतृत्वको सरकारमा सहभागी हुन अस्वीकार गर्दै आएका छन् ।
लिकुडसँग एकता सरकार गठनको पक्षमा रहेका बी’याचड पार्टीका अध्यक्ष नफ्ताली बेनेट भने आइसेनकोट नेतृत्वमा सरकार गठन भए त्यसको विरोध गर्न सक्ने देखिएको छ । बेनेटको समूहका वरिष्ठ नेताहरूले च्यानल १३ लाई दिएको जानकारीअनुसार नेतान्याहुसँगको वार्ता टुङ्गिनुअघि आइसेनकोटले सरकार गठन गरे बेनेटको समूह असन्तुष्ट हुन सक्छ । यद्यपि, लिकुडसँगको वार्ता सफल नभए अन्य विकल्पबारे सोच्न सकिने सङ्केत बेनेटले यसअघि नै दिएका थिए ।
राष्ट्रपति आइज्याक हर्जोगले आइसेनकोटलाई सरकार गठनका लागि दिएको २८ दिनको समय आगामी डिसेम्बर ६ मा सकिँदैछ । आइसेनकोटको याशर पार्टी, गोलानको डेमोक्रेट्स र लिबरम्यानको इजरायल बेटेनु पार्टीसँग संसद् नेसेटका कुल १२० सिटमध्ये ३६ सिट छन् । बेनेटको समर्थनसमेत जोड्दा चारदलीय गठबन्धनको सिट सङ्ख्या ४८ पुग्छ ।
सरकार गठनका लागि आवश्यक ६१ सिटको बहुमत पुर्याउन भने थप दलको समर्थन आवश्यक छ । त्यसका लागि लिकुड, अति अर्थोडक्स समूह वा अरब बहुल राम पार्टीको साथ लिनुपर्ने देखिन्छ ।
टाइम्स अफ इजरायलका अनुसार च्यानल १२ ले राम पार्टीले मन्त्री पद र अरब समुदायको विकासमा लगानी गर्ने सर्तमा आइसेनकोट नेतृत्वको सरकारका सुरक्षा निर्णयलाई चारवर्षे कार्यकालभर समर्थन गर्ने प्रस्ताव गरेको जनाएको छ । रामका अध्यक्ष मन्सुर अब्बासले पश्चिम किनारासम्बन्धी नियमजस्ता संवेदनशील विषयमा समेत गठबन्धनको निर्णयअनुसार अघि बढ्ने आश्वासन दिएको बताइएको छ ।
राम पार्टीले अब्बास र पार्टीका दोस्रो वरीयताका नेता सांसद योआव सेगालोभिट्जका लागि मन्त्रिपरिषद्मा स्थान, अरब समुदायमा अपराध नियन्त्रणका कार्यक्रम तथा अरब र मिश्रित सहरहरूको विकासका लागि पाँचवर्षे योजनाअन्तर्गत ठूलो रकम लगानी गर्नुपर्ने माग अघि सारेको छ । त्यस्तै, नेगेभ क्षेत्रका अरब समुदायमा निर्माण गतिविधि व्यवस्थित गर्न राष्ट्रिय परियोजना सञ्चालन गर्नुपर्ने माग पनि पार्टीको छ ।
आइसेनकोटले यी माग पूरा गर्ने प्रतिबद्धता जनाए राम पार्टी सरकार गठनपछि क्रमशः आफ्ना माग कार्यान्वयन गर्न तयार रहेको बताइएको छ । यद्यपि, पार्टी तत्कालै सरकारमा सहभागी हुने अपेक्षा गरिएको छैन । अब्बासले आगामी दिनमा च्यानल १२ लाई दिने अन्तर्वार्तामा हमासलाई आतङ्कवादी सङ्गठनका रूपमा सार्वजनिक रूपमा स्वीकार गर्ने अपेक्षा गरिएको छ । सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै राम पार्टीले उनका लागि निजी सुरक्षा व्यवस्था मिलाइरहेको जनाइएको छ ।
यसैबीच, आइसेनकोट समूहका एक वरिष्ठ नेताले लिकुडसँगको एकता सरकारले सैन्य रिजर्भ सैनिकहरूको जिम्मेवारी र बोझ कम गर्ने बेनेटको दाबीमाथि प्रश्न उठाएका छन् । नेतान्याहु अति अर्थोडक्स सहयोगीहरूप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले एकता सरकार बने पनि ती समूहलाई विशेष छुट दिइने बताएका छन् ।
टाइम्स अफ इजरायलले च्यानल १२ लाई उद्धृत गर्दै ती नेताको भनाइ प्रकाशित गरेको छ, “रिजर्भ सैनिकहरूको समस्याको समाधानका रूपमा एकता सरकारलाई प्रस्तुत गर्नु गलत हो । लिकुडसँगको सरकारमा अति अर्थोडक्स समूह र नेतान्याहु दुवैले छुट पाउनेछन् ।”






